बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

चालू आवमा रेमिटान्स १९.३% ले वृद्धि; शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब बचतमा

चालू आवमा रेमिटान्स १९.३% ले वृद्धि; शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब बचतमा

२७ असार ,काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक सार्वजनिक गर्दै आर्थिक सूचकहरूमा सुधार भएको जनाएको छ । सार्वजनिक तथ्यांकअनुसार  विप्रेषण आप्रवाह ( रेमिटान्स ) १९.३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड छ । सरकारको खर्च ११ खर्ब ८१ अर्ब ३० करोड र राजस्व परिचालन ९ खर्ब १९ अर्ब १९ करोड छ । त्यस्तै ,महँगी घट्दै छ भने कुल विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । जेठसम्म मूल्यवृद्धि ४.१७ प्रतिशत रहेको छ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको आर्थिक अवस्थाअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई नौ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
संख्या चार लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख ५९ हजार ४१५ र दुई लाख ६० हजार २६२ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ४३ अर्ब छ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।

त्यस्तै , चालु आवको ११ महिनामा चालु खाता दुई खर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ५१ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई रु.५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८ अर्ब १६ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.सात अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. चार अर्ब ६५ करोडले धनात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.दुई खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब २० करोडले बचतमा रहेको छ ।

गत बर्ष २०८० असार मसान्तमा रु.१५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा रु.१९ खर्ब ६७ अर्ब १९ करोड पुगेको
छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई रु.१७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु. एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ छ प्रतिशतले वृद्घि भई रु.दुई खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

समीक्षा आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ। ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend