२५ असार ,काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको निर्देशन पछि ताहचलस्थित वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ। मन्त्री अर्यालले सोमबार विभागको आकस्मिक अनुगमन गरेका थिए । अनुगमनको क्रममा अनावश्यक व्यक्तिहरूको कार्यालयभित्र प्रवेश गरेको पाएका थिए । त्यसपछि मन्त्री अर्यालले विभागमा अनावश्यक व्यक्तिको प्रवेशमा कडाइ गर्न निर्देशन दिएका थिए।
विभागमा अनावश्यक व्यक्तिहरू प्रवेश गर्दै सेवाग्राहीलाई अनेकन् प्रलोभन देखाउने गरेको पाइएपछि विभागले प्रवेशमा कडाइ गरेको हो ।विभागले आफ्नै कर्मचारीलाई समेत अनिवार्य रूपमा परिचयपत्र लगाउन निर्देशन दिएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले कर्मचारीहरूलाई कार्यालय समयभित्रमा परिचयपत्र अनिवार्य लगाउन निर्देशन दिएका हुन् ।
विभागले नवीकरण, दर्ता, दाखिला, खारेज, लगायतका कार्यहरूमा परिचयपत्र बाहक कर्मचारी, सञ्चालक तथा कानुनी सल्लाहकारको रूपमा नियुक्त कानुन व्यवसायी बाहेक अन्य व्यक्तिलाई विभागभित्र प्रवेश निषेध गरिएको हो । विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले अनावश्यक व्यक्तिहरू प्रवेश गरेर सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या सिर्जना गरेपछि कडाइ गरिएको बताए ।
विभागले आफ्ना कर्मचारीहरूलाई अनिवार्य रूपमा परिचयपत्र बोक्न निर्देशन दिएको छ । त्यस्तै कर्मचारी बाहेकका सेवाग्राही तथा सरोकारवाला निकायलाई समेत प्रवेशमा कडाइ गरिएको विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend