२२ जेठ, मंगलबार । भारतीय सेयर बजारमा एकैदिनमा भारी गिरावट आएको छ । आज भारतमा लोकसभा चुनावको नतिजा आउने क्रम सुरु भएसँगै भारतीय बजारमा भारी गिरावट देखिएको हो । चुनावको परिणाममा सत्तारुढ भारतीय जनता पार्टीको एनडिए गठबन्धनले अपेक्षा विपरीत कमजोर प्रदर्शन गरेपछि सेयर बजारमा प्रभाव देखिएको हो।
दिउँसो साढे १२ बजेसम्म बीएसई सेन्सेक्स अघिल्लो दिनको तुलनामा ६ हजार अंक (७.९७ प्रतिशत) घटेको छ । साढे १२ बजेसम्म बीएसई सेन्सेक्स ७० हजार ३७४ मा झरेको छ । सोमबार याे सेन्सेक्स ७६ हजार ५९९ अंकसम्म पुगेको थियो ।
त्यस्तै अर्को नेसनल स्टक एक्स्चेन्जको सूचक एनएसई १९ सय बढी अंकले घटेको छ । साढे १२ बजेसम्म यो सूचक १९४७ अंक घटेर २१ हजार ३१६ मा झरेको छ । निफ्टी ५० सूचक ८.३७ प्रतिशत घटेको छ ।
मुख्यतः भारतीय लोकसभाको नतिजा आउने क्रम सुरु भएपछि बजारमा भारी गिरावट देखिएको हो । चुनावको नतिजा भारतीय सञ्चारमाध्यमले गरेको प्रक्षेपणको तुलनामा केही फरक देखिँदा बजार प्रभावित बनेको अनुमान छ।
भारतमा मंगलबार बिहानदेखि लोक सभा चुनावको मतगणना भइरहेको छ।
लोक सभाका ५४३ सिटमध्ये अहिलेसम्मको परिणामअनुसार एक क्षेत्र बिजेपी नेतृत्वको एनडिएले जितिसकेको छ।
२८६ सिटमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ।
कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २३४ सिटमा अघि छ। २४ सिटमा अरू दल अघि रहेका छन्।
भारतीय समाचार संस्था एनडिटिभीका अनुसार यसपालि भारतीय जनता पार्टी एक्लैको बहुमत नपुग्ने देखिएको छ। बिजेपी २४० सिटमा अघि छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend