१० जेठ , काठमाडौं । २५६८औँ बुद्ध जयन्ती आज देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। लुम्बिनी , बौद्ध , स्वयम्भू लगायत सबै तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
वैशाख शुक्ल पक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्बारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्ति भाव व्यक्त गर्ने पावन दिनका रूपमा लिँदै बुद्ध जयन्ती मनाउने गरिएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो।

ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
यसैबीच , राष्ट्रपति रामचन्द्र पौडेलले २५६८ औँ बुद्ध जयन्तीको शुभकामना सन्देश दिँदै उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास लिएको बताएका छन् ।
त्यस्तै , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राचीन कपिलवस्तुको राजधानी रहेको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोगका लागि आग्रह गरेका हुन् ।
बुद्ध जयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिईएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend