६ जेठ , काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सामान्यत ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने मस्तिष्कघात नेपालमा युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताएका छन् ।
‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को प्रथम अन्तर्राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा आज सम्बोधन गर्दै उपराष्ट्रपति यादवले देशमा ४५ वर्ष मुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुने डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक भएको बताएका हुन् ।
उपराष्ट्रपति यादवले रोगहरु बढ्नुको मुख्य कारण मानिसको अव्यवस्थित जीवनशैली भएको बताए । ‘आरामदायी जीवनशैली, धूम्रपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । हामीले हाम्रो दैनिकी र जीवनशैलीमा सुधार गर्न जरुरी छ’ उनले भने, ‘नियमित व्यायाम, स्वास्थ्यकर खानपान, आवधिक स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ ।’
उनले न्यूरोसंग सम्बन्धित रोगको निदान र उपचारमा जोड दिँदै शरीरका विभिन्न अङ्गमा रोगको दीर्घकालीन असरलाई कम गर्न सक्नु पर्ने बताए । उनले नेपालमा सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था केही सामान्य भए पनि दुर्गम गाउँवस्तीमा बसोबास गर्ने आम नागरिकलाई समयमै उपचार पाउन धेरै गाह्रो अवस्था रहेकोे समेत बताए ।
‘अझ जटिल र घातक रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ । यो बाध्यता हटाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा स्वदेशमै उपलब्ध गराउन सक्नु पर्दछ ’ उनले भने, ‘न्यूरोसंग सम्बन्धित रोगको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षाका लागि सरकारसँगै यस क्षेत्रमा क्रियाशील सङ्घसंस्था पनि प्रतिबद्ध हुन जरुरी छ ’
‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ले न्यूरोलोजीसँग सम्बन्धित रोगहरूको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै न्यूरोलोजीको क्षेत्रमा देखिएका समस्याहरू पहिचान गर्न र त्यसको समाधानका लागि यो सम्मेलन सफल हुने विश्वास उनलेे व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend