काठमाडौं । तत्कालीन माओवादीले ‘सशस्त्र युद्ध’ थालेको दिन फागुन १ लाई नेकपाले सहिदहरूको स्मृति दिवसका रूपमा मनाउने भएको छ । यसअघि माओवादी धारले ‘जनयुद्ध दिवस’का रूपमा मनाउने गरेको थियो । तत्कालीन एमालेले माओवादीको विद्रोहलाई ‘जनयुद्ध’ मान्दैनथ्यो । एकताका क्रममा दुवै पार्टीका विगतका संघर्षको सम्मान गर्ने नीतिअनुसार तत्कालीन एमाले समूह पनि फागुन १ लाई स्मृति दिवस मान्न तयार भएको हो । पार्टी महासचिव विष्णु पौडेलले उक्त दिन पार्टी केन्द्रदेखि तल्लो तहसम्म कार्यक्रम आयोजना गर्न ‘सर्कुलर’ गरेका छन् ।
‘२०७५ फागुन १ गते केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । कमरेडको कार्यक्षेत्रअन्तर्गत तदनुरूप कार्यक्रमहरू आयोजना हुने विश्वास गरिएको छ सर्कुलरमा भनिएको छ ।
यसैअनुसार जिल्ला र प्रदेश कमिटीले कार्यक्रम तय गरेका छन् । उक्त दिन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि कार्यक्रम हुनेछ, जसमा अध्यक्षद्वय ओली र दाहाल सहभागी हुनेछन् । साभार कान्तिपुर दैनिकबाट
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend