सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सहकारी प्रकरणको निराधार आरोपबाट शिर नझुकाउन रास्वपा समर्थकलाई गृहमन्त्रीको आग्रह

सहकारी प्रकरणको निराधार आरोपबाट शिर नझुकाउन रास्वपा समर्थकलाई गृहमन्त्रीको आग्रह

२९ वैशाख , काठमाडौं । नेपाली काङ्ग्रेस तथा केही संचार माध्यमले सहकारी ठगीमा जोडेर निरन्तर निराधार आरोप  लगाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आक्रोश व्यक्त गरेका छन् । गृहमन्त्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आफूलाई लागेको आरोपबारे संसद्‌मा एकपटक मात्र बोल्न दिए संसदीय छानबिन समितिको माग तत्काल बन्द गरिदिने चुनौती दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले शुक्रबारको संसद् बैठकमा पनि बोल्न नपाएपछि सामाजिक सञ्जालमार्फत उक्त चुनौती दिएका हुन्।

‘डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापाजी! एकपटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ’,  उनले भनेका छन्।

पछिल्लो समय काङ्ग्रेसले गृहमन्त्री  रवि लामिछानेलाई सहकारीबाट ऋण लिएको आरोप लगाएर संसद अवरुद्ध गर्दै आएको छ। उसले आरोप माथि स्पष्टीकरण दिने मौका समेत नदिएर अराजनीतिक रवैया देखाएको छ। त्यससँगै , कान्तिपुर लगायतका केही सञ्चार माध्यमले एकोहोरो रूपमा गृहमन्त्रीलाई सहकारी प्रकरणमा जोडेेर प्रायोजित समाचार लेख्दै आएका छन् ।

कांग्रेसले लगाएको आरोपजस्तो आफैँले फारम भरेर त्यस सहकारीबाट ऋण लिएको प्रमाण ल्याए राजनीति नै छाड्ने दाबी पनि लामिछानेले दोहोर्‍याएका छन्।

‘कांग्रेस र गगन थापाजीहरूले आरोप लगाएजस्तो मैले खुद आफैँले फारम भरेर उक्त सहकारीबाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु’, उनले लेखेका छन्, ‘प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइँदैन।’

यसअघि उनले संसद् भवनबाट बाहिरिँदा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोही चुनौती दिएका थिए। त्यसो त गगन थापाले पनि रविले सहकारीबाट ऋण लिएको प्रमाण ल्याउन नसके आफू पनि राजनीतिबाट बिदा हुने दाबी गरेका छन्।

आफू संसदीय छानबिन समितिबाट नडराएको जिकिर गर्दै गृहमन्त्री लामिछानेले बरु आफूलाई संसद् बोल्न नदिएर कांग्रेस किन डराएको भनी प्रश्न गरेका छन्।

‘म संसदीय छानबिनसँग र तपाईंहरूको देश डुबाउने राजनीतिसँग डराएको छैन’, उनले सोधेका छन्, ‘तर मलाई मात्र एकपटक बोल्न दिन तपाईंहरूचाहिँ  किन डराएको?’

उनले कांग्रेस नेताहरूको उद्देश्य सहकारीको पीडितको समस्या समाधान गर्नु नभई आफ्नो बदनाम गर्न मात्र रहेको आरोप पनि उनले लगाएका छन्।

‘तपाईंहरूलाई सहकारीपीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईंहरूलाई केवल मलाई बदनाम गराउनु छ’, उनले भनेका छन्, ‘हेक्का राख्नुस्, म पनि  यो सर्वभौम संसद्‌को सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि  हुँ। ममाथि लागेका संगीन आरोपहरूबारे एकपटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नुपर्ने? दुई महिना निरन्तर गाली गर्ने, झुटा आरोप लगाउने, मिडिया खेलाउने अनि एकपटक बोल्न पाऊँ न भन्दा संसद्‌मा  बाटो छेक्ने? घेराउ गर्ने? अझ डारायो भन्ने? यही हो कांग्रेसको लोकतन्त्र?’

उनले आफ्नो पार्टी पंक्तिलाई पनि यो प्रकरणका कारण शिर नझुकाउन आग्रह गरेका छन्।

‘प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला’, उनले भनेका छन्, ‘तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन।’

यसैबीच ,गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् ।

चितवनमा आज बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend