२१ बैशाख , काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।
यही बैशाख २० गते बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । समितिमा यसअघि काशीराज दाहाल अध्यक्ष थिए । उनको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो ।
सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि यही कार्यालयले ती सहकारीको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । त्यस्ता समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता, ऋण उठाउने लगायतको काम गर्दै आएको छ । यो समितिले सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मेवारी बहन गर्छ ।
हाल देशभर विभिन्न प्रकृतिका ३० हजार भन्दा बढी सहकारी संस्थाहरू सञ्चालित छन् । ती मध्ये करिब आधा बचत तथा ऋणको कारोबार गर्ने वित्तीय प्रकृतिका सहकारी संस्थाहरू सञ्चालित छन्। हालसम्म २० वटा सहकारीहरु समस्याग्रस्त घोषणा भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend