१४ बैशाख , काठमाडौं । गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानून बमोजिम विशिष्ठ व्यक्तिहरुलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरु बाहेक अन्य सबैलाई फिर्ता बोलाउन निर्देशन दिएको छ ।
बिहीबारको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले व्यक्तिगत सुरक्षाकर्मीहरु पदाधिकारी रहेको कार्यालयमा यथाशिघ्र (२४ घण्टाभित्र) फिर्ता बोलाई सो को विवरण उपलब्ध गराउन नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न/गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधि विपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुबै प्रहरी संगठनलाई निर्देशन दिएको छ। यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ।
उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन गरेको हो। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले एकातिर शान्ति सुरक्षा कायम गर्ने तथा सीमा सुरक्षा पोष्टमा खटिने सुरक्षाकर्मी कमी हुने अर्कातिर विशिष्ठ पदाधिकारीले व्यक्तिगत कामका लागि राष्ट्रसेवक प्रयोग गर्ने प्रचलनको अन्त्य आवश्यक भएकाले त्यसैको सुरुआतका लागि यो निर्णय गरिएको बताएका छन् । गृहमन्त्री लामिछानेले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई समयानुकूल परिमार्जनको गृहकार्य भइरहेको पनि जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend