११ बैशाख , काठमाडौँ । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी राजकीय भ्रमणको लागि आज साँझ नेपाल आइपुग्दै छन् । विशेष विमानबाट नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छन्। कतारी अमिरको स्वागतको लागि राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् । राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । हाल बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौँ अवतरण हुन लागेका हुन् उनी बैशाख १२ गते बुधबार स्वदेश फर्किनेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमणको नेपाली पक्षबाट सबै तयारी पूरा भइसकेको छ । नेपालमा रहँदा अमिर शेखले राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गर्नेछन् भने राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको समेत आयोजना गरेका छन् । यस्तै अमिरले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदाप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ।
कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुंगो लागिसकेको छैन्। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ।
यसैबीच कतारले यसपटक पनि नेपालसँगको श्रम सम्झौता पुनरवलोकनमा बेवास्ता गरेको छ। कतार नेपाली श्रमिकहरुको एक मुख्य गन्तव्य रहिआएको छ।
नेपालले कतारसँग पटक पटक श्रम सम्झौता पुनरावलोकन गर्न आग्रह गरे पनि कतारले आनाकानी गर्दै आएको हो।
यो पटक कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणका क्रममा सम्झौता पुनरावलोकन गर्ने आश्वासन कतारले दिएको थियो।
यसअघि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एक बैठकमा नेपालले कतारसँग श्रम सम्झौताको प्रस्ताव राखेको थियो। कतारले त्यस बेला पनि सहमति जनाउँदै अमिर थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर हुने बताएको थियो। तर उनी आए पनि सम्झौता पुनरवलोकनबारे कुनै तयारी गरिएको छैन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend