बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

केपी ओलीले भने- काङ्ग्रेसले सहकारी समस्यामा प्रतिशोधको राजनीति गर्‍यो

केपी ओलीले भने- काङ्ग्रेसले सहकारी समस्यामा प्रतिशोधको राजनीति गर्‍यो

९ बैशाख , ललितपुर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेसले सहकारी क्षेत्रमा देखा परेका गम्भीर समस्यामा प्रतिशोधको राजनीति गरेको बताएका छन् ।ललितपुरको गोदावरीमा शनिबार (८ बैशाख )बाट सुरू भएको पार्टीको महाविधेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले नेपाली  काङ्ग्रेसको अरुमाथि प्रश्न उठाउने नैतिक आधार समेत नभएको  बताएका हुन् ।

अध्यक्ष ओलीले वचतकर्ताको अर्बौं रकम हिनामिना भएको सन्दर्भमा  गम्भीर छानबिन गरी दोषीहरूलाई कानुनी कारबाही गरिनुपर्नेमा काङ्ग्रेसले गृहमन्त्री रवि लामिछानेमाथी राजनीतिक प्रतिशोध राखेकोतर्फ संकेत गरेका हुन् ।

‘यस विषयमा पार्टी स्पष्ट छ। तर निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन। हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरूलाई राजीनामा गराउन तयार नहुने कांग्रेसले यतिबेला अरूमाथि प्रश्न उठाउने नैतिक आधार समेत राख्दैन,’ उनले भनेका छन्।

एमाले अध्यक्ष ओलीले अचानक सत्ताबाट बाहिरिनु पर्दा यतिबेला नेपाली कांग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिएको टिप्पणी गरेका हुन् । यही हतासाले कांग्रेसलाई प्रतिशोधको राजनीतिमा पुर्‍याएको उनले बताए ।

राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन र त्यसले उत्पन्न गरेको तरंगबाट नेकपा (एमाले) आन्दोलन जोगान सफल भएको भन्दै २०७४ कै जस्तो हतारिएर एकता र ध्रुवीकरणको दिशामा जानुनहुने  निष्कर्ष प्रस्तुत गरेका छन् । अध्यक्ष ओलीले निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी नहुने बताएका हुन्।

हिजोदेखि लतिलपुरको गोदावारीमा जारी दुई दिवसीय बैठकको आइतबार अन्तिम सत्र पनि हो। आज बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमा छलफल हुनेछ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend