बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

फागु अर्थात वसन्त उत्सव रङ्गमय रूपमा आज मनाइँदै

फागु अर्थात वसन्त उत्सव रङ्गमय रूपमा आज मनाइँदै

११ चैत, काठमाडौं । वसन्त ऋतुको आगमन तथा  प्रेम, सद्भाव  र सत्यको विजयको प्रतिकात्मक सन्देश लिएर आउने फागु पर्व  आज आइतबार मनाइँदैछ। फागुलाई वसन्त उत्सव अनि मदनोत्सवको रूपमा लिने गरिन्छ।

फागु रंग र खुशीको पर्व हो।   फागु पर्व उत्साहका साथ  विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको  छ। यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँने गर्छन् । चीरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका चलन रहेको छ।

परम्परागत रूपमा फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मयलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु प्रारम्भ हुन्छ। त्यस्तै  आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दस पाथी चामलको भात र एउटा राँगाको मासु खुवाइ सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भस्म भएकी, तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको दन्त्यकथा यो पर्वसँग जोडिएको छ। त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।

अर्को विश्वास अनुसार  द्वापरयुगमा श्रीकृष्ण भगवानलाई  मार्न कंशद्वारा पठाइएकी राक्षस्नी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भइ मारिएको निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ।

उचित तरिकाले  तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौं रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व छ।

फागु पर्वका अवसरमा  परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ।

यसैबीच जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ । फागु पर्वमा शान्ति सुरक्षाको लागि  काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend