बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पोशाक उद्योगमा नीतिगत सुधार आवश्यक छ: अध्यक्ष पाण्डे

पोशाक उद्योगमा नीतिगत सुधार आवश्यक छ: अध्यक्ष पाण्डे

२७ फागुन, काठमाडौं । नेपाल तयारी पोशाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाक उद्योगलाई प्रबर्द्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । यही फागुन २६ गते  सम्पन्न नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उनले  नेपालबाट निर्यात हुने वस्तुको पंक्तिमा अगाडि रहेको तयारी पोशाक निर्यातमा क्रमिक सुधार आए पनि उत्पादन लागत महँगो हुँदा प्रतिस्पर्धामा चुनौती बढेको बताए  ।

व्यवसायीहरुले छिमेकी मुलुकको तुलनामा नेपाली तयारी पोशाकको लागत महँगो भएको भन्दै लागत न्यूनीकरणमा सघाउन उनीहरूले सरकारसँग आग्रह गरे । नेपाल तयारी पोशाक उद्योग संघका अनुसार छिमेकी मुलुकको दाँजोमा नेपाली तयारी पोशाक २७ प्रतिशत महँगो छ ।  सन् १९८७ मा स्थापना भएको सङ्घमा एक सयभन्दा बढी तयारी पोशाक उद्योगी आबद्ध रहेका र तयारी पोशाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सृजना जानकारी दिए ।

गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब रु नौ अर्ब बराबरको तयारी पोशाक निर्यात भएको सङ्घले जनाएको छ । तयारी पोशाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा छ । गलैँचा प्रथम र तयारी पोशाक दोस्रो स्थानमा रहेको सङ्घका अध्यक्ष पाण्डेले जानकारी दिए ।

त्यस अवसरमा  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रघुवीर महासेठले सन् २०२२/२३ मा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने तीन उद्योगलाई सम्मान प्रदान गरेका थिए । सो अवधिमा ट्राई क्रट इन्डस्ट्रिजले रु एक अर्ब १७ करोड, नेपाल फेसन प्रालिले रु ६६ करोड र पल्स फेसन सोलुसन प्रालिले रु ४३ करोडको तयारी पोशाक निर्यात गरेको थियो ।

सो कार्यक्रममा उपप्रधानमन्त्री महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताए । सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले भने, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।’ उनले मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताए । यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उनले बताए । ‘निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ,’ मन्त्री भण्डारीले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। उहाँले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ भने ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तयारी पोशाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न, मुलुकमा लगानीको वातावरण निर्माण गर्न सुझाव दिए । उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवं सङ्घका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोशाक रहेको उल्लेख गर्दै निर्यातमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । उनले निर्यातमा अनुदान दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन सुझाव पनि दिए ।

प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता मिजारले उद्योग व्यवसायलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै निकासी प्रवद्र्धनमा ध्यान दिन आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोशाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रूपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन अनुरोध गरे । सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन थप सहयोग आवश्यक भएको उनले बताए ।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन सुझाव दिए । आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गरे ।

गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब रु नौ अर्ब बराबरको तयारी पोशाक निर्यात भएको सङ्घले जनाएको छ । तयारी पोशाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा छ । गलैँचा प्रथम र तयारी पोशाक दोस्रो स्थानमा रहेको सङ्घका अध्यक्ष पाण्डेले जानकारी दिएका छन् ।

सङ्घको कार्यसमितिमा १० वर्षभन्दा बढी समय सेवा गरेका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियोभने प्रधानमन्त्री पुष्पकमल दाहालले साधारणसभाको सफलताको कामना गर्दै पठाएको शुभकामना सन्देश सुनाइएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend