काठमाडौं । विश्व बैङ्कले नेपालको सडक पूर्वाधार विकास तथा राजस्व संकलन र ऋण व्यवस्थापनमा पारदर्शिता अभिवृद्धि गर्ने दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ।
शुक्रबार ( १८ फागुन ) को विश्व बैङ्कको कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो। सो सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैङ्कले जनाएको छ।
वाशिङटन डिसीस्थित बैङ्कको प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन (करिब रु १३ अर्ब २५ करोड) रकम राजस्व सङ्कलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारदर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ।
प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो रकम प्रयोग गरिनेछ।
त्यस्तै , एक सय मिलियन (करिब रु १३ अर्ब २५) बढी रकम भने प्रादेशिक (मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मत–सम्भारमा खर्च हुनेछ। त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्नेछ।
बैङ्कका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद जार्भोसले विश्व बैङ्क नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको र विश्व बैङ्कको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए)मार्फत सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेको बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend