सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजनितीक दलकै दबावमा जवरजस्त सहिद घोषणा गर्नु सहिद शब्दकै बदनाम हो

राजनितीक दलकै दबावमा जवरजस्त सहिद घोषणा गर्नु सहिद शब्दकै बदनाम हो

माघ १६ अर्थात सहिद दिवस । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर सहिद दिवस मनाइँदै छ । सहिद दिवसका अवसरमा देश र जनताको लागि जिवनकै आहुती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सतमार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ ।

तर ब्यवहारमा सहिदले देखाएको मार्ग अनुशरण नगर्ने तर देखाउनैका लागि बर्षमा एकपटक सम्झेजस्तो गर्ने प्रवृत्तीले सहिद दिवस औपचारिकताका सीमित हुने गर्दछ । देश र जनताको सुन्दर भबिश्यको कामना गर्दै नेपालमा सयौं ब्यक्तिले ज्यानको आहुती दिएता पनि सहिदका कैयौ सपना पूरा भएका छैनन् ।

देशको स्वाधिनता, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदान दिनेलाई सहिद मानिन्छ । तर नेपालमा अपराधिक समुहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका ब्यक्ति समेतलाई राजनैतिक दवावमा सहिद धोषणा गरेको देख्दा देशको लागि बलिदानी दिने ब्यक्ति सहिद हुन् वा दलप्रतिको वफादार राजनैतिक कार्यकर्ता भन्ने भ्रम सृजना गरेको छ ।

देशको स्वार्थका लागि लड्दालड्दै ज्यानको आहुती दिने ब्यक्तिलाई राज्यले सहिदको सम्मान दिन मृतकको देश र जनता प्रतिको त्याग र समर्पण हुनु पर्दछ । तर कुनै अमूक दलकै सदस्य भएकै नाताले जवरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिद प्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य हो ।
बिसं १९९७ सालमा तत्कालिन राणा शासनको बिरोधमा उत्रने क्रममा ज्यानको आहुती दिन तयार भएका शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल सहिद हुन् । त्यस पछिका लोकतात्न्त्रिक आन्दोलनहरुमा देश र जनताको पक्षमा निर्भयताका साथ ज्यानको बाजी लगाएर लोकतन्त्रको स्थापमा मद्दत र्पुयाउनेहरु सहिद हुन् । देश र जनताको लागि ज्यानको आहुती दिने ब्यक्तिहरु सहिद हुन् ।

सहिदको हुन् त भन्ने प्रसङ्गमा छलफल गर्नु पर्दा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत शब्दकोषमा ‘आफ्नो देश संस्कृती र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तीका निम्ति बलिदान भएर लोक हितमा लाग्ने अमर ब्यक्ति’ सहिद हुन् भनेको छ । यस्तै नेपाली शब्द सागरले ‘कुनै पनि शुभ परिणामका निम्ति लाग्दा लाग्दै प्राण गुमाउने तथा देश जाती र जनताको सुखको निम्ति संघर्ष गर्दा मरेको ब्यक्तिलाई सहिद’ मानेको छ ।
सरकारले सहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागि गरेको योगदान र त्यागका आधारमा सहिद घोषणा गरिनु पर्दछ ।मापदण्डका आधारमा सहिदको घोषणा गर्ने भन्दा पनि दलहरुले आफ्ना कार्यकर्ता समर्थक मारिएको अवस्थामा सहिद घोषणा गर्ने परिपाटी बसाएका छन् । कुनै अमूक दलकै सदस्य भएकै नाताले जवरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिद प्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य हो ।

हाम्रा राजनैतिक दलहरुको राजनैतिक संस्कार खस्कदै गएको र निश्चित मापदण्ड बिना जथाभावी सहिद घोषणा गर्ने प्रवृतीले सहिदको परिभाषा सस्तो बनेको भान हुन थालेको छ । सहिद भन्नासाथ शिर निहुरिने, हृदयदेखि श्रद्धाभाव जाग्नु पर्नेमा फौजदारी अभियोग लागेका, अदालतको फैसला अनुसार सजाय भोगेका, तोडफोड र हिंसात्मक गतिबिधिमा उत्रदा वा कुनै अमुक राजनैतिक दलको आन्दोलनमा संलग्न भएकै आधारमा मात्र सहिद घोषणा गर्ने कार्यले वास्तविक सहिदको योगदानलाई समेत फिका बनाउनमा मद्दत र्पुयाएको छ ।

राजनैतिक दलहरुले आफ्ना समर्थक भएकै आधारमा निश्चित मापदण्ड बिना सहिद घोषणा गरेपछि सर्वसाधारणले त्यसको सिको गरी दवावमा सहिद घोषणा गराउन खोज्ने कुरालाई अन्यथा मान्न सकिन्न । यसको लागि सरकारले सहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागि गरेको योगदान र त्यागका आधारमा सहिद घोषणा गरिनु पर्दछ ।

अन्तमा औपचारिकताका लागि मात्र सहिद दिवस मनाउनु भन्दा उनीहरुले देखाएको सतमार्ग हिँड्नु र उनीहरुको योगदानको उचित कदर गर्नु नै सहिद प्रतिको सच्चा सम्मान हो । जुन उद्देश्य र लक्ष्यका साथ सहिदहरुले सहादत प्राप्त गरेका थिए त्यहि उद्देश्य र लक्ष्य हासिल गर्न प्रतिबद्ध भै लागेमा नै सहिद प्रतिको सच्चा सम्मान गरेको ठहर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend