खबरब्रेकिंग, काठमाडौँ, फागुन ७ । दर्शनाचार्य गद्यकवि लक्ष्मीप्रसाद ढकालको कविता संग्रह ‘अक्षर’ बिमोचन भएको छ । प्रा.डा वासुदेव त्रिपाठीको प्रमुख आतिथ्य तथा वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा,विशिष्ठ अतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा.डा त्रिपाठी,बिशिस्ट अतिथि देवकोटासंगै स्वर्गीय डा बाबुराम पोखरेल स्मृति समाजका अध्यक्ष उर्मिला पोखरेल, प्रा डा रमेश भट्टराई, स्वर्गीय डा।बाबुराम पोखरेल स्मृति समाजका उपाध्यक्ष डा बबिन पोखरेलले संयुक्त रुपमा सो कविता संग्रहको बिमोचन गरेका हुन् ।
भीएस निकेतनकी प्रिन्सिपल संगीता श्रेष्ठद्वारा सञ्चालित र धन्यवाद ज्ञापन गरिएको ‘अक्षर’ लोकार्पण कार्यक्रममा शिक्षक देवीरमण बराल, विद्यार्थीहरु दीपिका अधिकारी, विद्या बुढाथोकी, केनिसा खड्का, लक्ष्मण बस्नेतलगायतले प्रस्तुत संग्रहबाट कविता वाचन गरेका थिए भने अतिथि वक्ताहरुले लोकार्पित कविता संग्रह अक्षरको सफलताको शुभकामना दिँदै ढकालको आगामी साहित्यिक यात्राको अझ सफलताको कामना गरेका थिए ।
डा।बाबुराम पोखरेल स्मृति समाजका अध्यक्ष उर्मिला पोखरेलको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रममा प्रमुख अतिथि प्रा.डा त्रिपाठीले दर्शनाचार्य (एमफिल) सम्म अध्ययन गरेका लक्ष्मीप्रसाद ढकाल नेपाली गद्य कविता विधाका मूल उर्जा र प्रवृत्तिहरुसँग सुपरिचित रहेको बताए ।
विशिष्ठ अतिथि वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटाले दर्शनाचार्य गद्यकवि ढकालका गद्य कविताहरुमा देशभक्ति, जनभावना ओकलिने गरेको बताउँदै हरेक विषयवस्तुलाई तत्काल गद्य कविताको रुप दिनसक्ने खुवी भएका ढकाललाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
अर्का बिशिस्ट अतिथि प्रा.डा रमेश भट्टराईले ढकालको कविता संग्रह ‘अक्षर’ का कवितामा समसामयिक नेपाली समाजको विषद हेराई र सुनाई अभिव्यञ्जित रहेको टिप्पणी गरे।
स्व.डा बाबुराम पोखरेल स्मृति समाजका उपाध्यक्ष डा. बबिन पोखरेलले समाजले प्रतिभाहरुलाई प्रोत्साहन गर्ने नीति लिएको, कुनै पनि प्रतिभाले अभावका कारण प्रतिभा प्रष्फुटनबाट वञ्चित हुन नपरोस् भन्दै स्व।डा।बाबुराम पोखरेल स्मृति समाजले त्यस्ता प्रतिभाहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कविता संग्रह ‘अक्षर’ का रचयिता दर्शनाचार्य गद्यकवि लक्ष्मीप्रसाद ढकालले स्व.डा.बाबुराम पोखरेल स्मृति समाजलाई धन्यवाद दिँदै आफूमा थप उर्जा प्राप्त भएको उल्लेख गरे । कविता संग्रह ‘अक्षर’ गद्य कविता विधाका अध्ययन गर्न चाहनेहरुका लागि ऐतिहासिक दस्तावेज बन्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend