बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कवि कला सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक

कवि कला सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक

खबरब्रेकिंग, काठमाडौँ, फागुन ५ ।कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले शनिबार काठमाडौंमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गर्नुभएको हो ।

अढाइ दशकदेखि कर्मथलो हङकङमा रहनु भएको सेरेङको यो पहिलो कृति हो । पुस्तक कृतिभित्र ११५ शीर्षकका गीत तथा कविता रहेका छन् । परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन् । मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रितीका शब्द उनिएका छन् ।

पुस्तक कृतिबारे उपकुलपति भुपाल राईले कवि कला सेरेङको कविताबाट उर्जा मिल्ने बताउनुभयो । उहाँले कला, साहित्यले देशमा परिवर्तन ल्याउनसक्ने बताउनुभयो । उहाँले कविताले मानिसलाई रुवाउन र हसाउन सक्ने भएकोले साहित्यमा ठूलो शक्ति लुक्ने बताउनुभयो । शक्तिको श्रोत हुने भन्दै अब्बल कविताले परिवर्तन ल्याउनसक्ने बताउनुभयो ।

विदेशमा बस्ने नेपालीहरुले साहित्यलाई धेरै माया गर्ने गरेको पाएको भन्दै उहाँले कवि कला सेरेङलाई शुभकामना दिनुभयो । कार्यक्रममा कवि तथा लेखिका कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीत मार्फत पस्कन खोजेको बताउनुभयो । उहाँले आफ्नो कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै साहित्यलाई निरन्तरता दिदै जाने बताउनुभयो । कवि सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको बताउनुभयो । ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उहाँको भनाइ छ, ‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ ।’

कार्यक्रममा विनोद चोङबाङले संयोजन गर्नुभएको कृतिमा डा. दिलकुमार हाङसुरुङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेख्नु भएको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला साहित्य मार्फत मानिसका भोगाइ र बिम्बहरु प्रस्फुटन हुने बताउनुभयो ।कार्यक्रममा प्राडा नृसिंह कुमार खत्री, वरिष्ठ चलचित्र निर्देशक विनोद श्रेङ्ग, नेपाल सरकारका उपसचिव कुलराज सुनुवार, गीतकार सुरेन्द्र राना, पत्रकार गणेश राई, चलचित्र निर्देशक उदय सुब्बा, सुनुवार सेवा समाज अध्यक्ष अमृत बहादुर सुनुवार श्रेङ्ग समाज काठमाडौका अध्यक्ष दुर्गा श्रेङ्ग, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमल, गितकार सरिता राई लगायतको उपस्थिति रहेको थियो ।

यस्तै कला सेरेङको ‘अतितका यादहरू’ गीतिभिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिनुभएको छ । प्रसिद्ध गायिका अन्जु पन्तले गाउनु भएको छ । उक्त भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ । परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ । त्यसमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गर्नु भएको छ । सीएम सुनुवार वाम्बुले राई संस्कृतिमा आधारित चलचित्र ‘सुम्निमा’को नायकसमेत हुनुहुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend