बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

उपभोक्तामा खानेपानीको बिल पुग्ने, पानी नपुग्ने अवस्था अन्त्य हुनुपर्छ : मन्त्री यादव

उपभोक्तामा खानेपानीको बिल पुग्ने, पानी नपुग्ने अवस्था अन्त्य हुनुपर्छ : मन्त्री यादव

१ फागुन , काठमाडौं । खानेपानी मन्त्री महिन्द्र राय यादवले उपभोक्तामा खानेपानीको बिल पुग्ने तर पानी नपुग्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १६औं वार्षिकोत्सब कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री यादवले यसको लागि लिमिटेडको पुनर्संरचना आवस्यक रहेको र सरकारले त्यसमा काम गरिरहेको बताएका छन् ।

मन्त्री यादवले नागरिकलाई सुशासनको अनुभुती गराउन धारामा पानी नआउने उपभोक्ताको पहिचान गरेर एकपटकको लागि खानेपानीको महसुल मिनाहा गराउन उपत्यका खानेपानी लिमिटेडलाई आग्रह गरे।

“स्थानीय प्रशासन ऐनले खानेपानीको स्रोत पहिचान , पानी उत्पादन र वितरण सम्बन्धमा स्थानीय सरकारलाई नै अधिकार दिएकोले पालिकाहरुले समन्वयात्मक रूपमा काम गर्नुपर्छ”, मन्त्री यादवले भने, “जनताले अहिले पनि डोकोमा पानी ओसार्नुपर्ने अवस्थाको अन्त्य हुनु जरुरी छ।”

उनलेे काठमाडौंमा दैनिक रूपमा चाहिने ५१ करोड लिटर पानीको मागलाई मेलम्चीको आयोजनाले सम्बोधन गर्ने बताए । महसुल नउठने समस्या समाधान गर्न घरजग्गा किनबेच गर्दा खानेपानीको महसुल तिरेको प्रमाणित गर्नुपर्ने व्यवस्था हुनुपर्ने जस्ता प्रावधान आवस्यक रहेको उन्ले बताए ।

उनले  जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा बढी प्रभावित देश बनेको बताए । जलवायु परिर्वतनको कारण हिमाल पग्लने,पानीका मुहानहरू र खोलाहरू सुकिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको संरचना , प्राविधिक पक्ष र प्रशासनमा ठुलो परिवर्तन र सुधारको आवस्यकता रहेको बताए ।

सचिव आचार्यले कम्पनीको स्थायी र सुदृढ व्यवस्थापनको लागि खुला प्रतिस्पर्धाबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने प्रक्रिया शुरु गरेको जानकारी दिए। त्यसको लागि स्थानीय पालिकाहरुसङ्ग समन्वय गर्नसक्ने र प्राविधिक ज्ञान भएको व्यक्तिको खोजी भईरहेको उनले जानकारी दिए । त्यस्तै , खानेपानी जस्तो आधारभुत सेवामा सरकारको नियन्त्रण कायम गर्नको लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना गर्दा ५१% भन्दा बढी सरकारको स्वामित्व राखिने उनले बताए ।

सचिव आचार्यले उपभोक्ताको धाराबाट पानी होइन, हावा मात्रै आउने अवस्थाको अन्त्य गर्न र १५ दिनभित्रमा त्यस्ता उपभोक्ताको पहिचान विवरण तयार गरि महसुल छुट दिन कम्पनी बोर्डलाई निर्देशन समेत दिए।

काठमाडौं उपत्यकामा खानेपानीको गुणस्तरीय र निर्वाध वितरणको लागि नयाँ पाइपलाईन ओछ्याने काम आगामी असार मसान्तसम्ममा पुरा हुने पनि उनले बताए ।

खानेपानी मन्त्रालयका सहसचिव तथा लिमिटेडका अध्यक्ष ई. तिरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न वार्षिकोत्सब कार्यक्रममा खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष रुद्र प्रसाद गौतम , काठमाडौं उपत्यका खानेपानीको लिमिटेडका आयोजना निर्देशक राजेन्द्र सापकोटा , व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिव विक्रम राणा , आधिकारिक ट्रेड युनियनका अध्यक्ष केशव प्रसाद अधिकारीले सम्बोधन गरेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend