खबरब्रेकिंग, काठमाडौँ, फागुन १ । रिडी पावर कम्पनी लिमिटेडले फागुन १८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई १० बराबर ५ कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निश्कासनको स्वीकृति प्रदान गरेको थियो ।
त्यसैअनुरुप कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा फागुन १८ गतेदेखि चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्ने छन् ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । बोर्डबाट स्वीकृत भएको हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ । हकप्रद मार्फत् संकलन भएको पूँजीलाई सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेको २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजना निर्माणमा लगानी गर्नेछ ।
निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ अर्ब ४० करोड रुपेयाँ लगानीमा बन्ने छ । जसमा कुमारी बैंकको अगुवाईमा ७५ प्रतिशत ऋण लगानी रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend