बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति उच्च शिक्षा शिखर सम्मेलनमा भेला हुने

विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति उच्च शिक्षा शिखर सम्मेलनमा भेला हुने

खबरब्रेकिंग, काठमाडौँ, माघ २९ । उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना हुन लागेको छ । काठमाडौँ विश्वविद्यालयमा यही फागुन ३–५ गतेसम्म नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला हुन लागेका हुन् । भारतीय विश्वविद्यालय सङ्घको आयोजना तथा काठमाडौँ विश्वविद्यालयको तत्त्वावधान सभाको आयोजना गर्न लागिएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ। विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति उच्च शिक्षा शिखर सम्मेलनमा भेला हुने भएका हुन । आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्मेलनबाट नेपालको शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताए।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल विषय रहेको बताइन् । उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उनको भनाइ छ।

हालसम्म करिब २२७ सहभागीहरू सहभागिताका लागि आउने निश्चित भएको प्रवक्ता पुनले बताइन्। सभामा नेपालका १५ जना उपकुलपतिको सहभागिता रहनेछ । त्यस्तै भारतबाट विभिन्न १७ राज्यका विश्वविद्यालयबाट समेत सहभागिता हुनेछ। सभा तथा सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधि समेत सहभागी हुनेछन् ।

अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदान प्रदानलाई प्रोत्साहित गर्ने उनको भनाइ छ। सभा, साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदानको दिशामा कोशेढुंगा साबित हुने बताइन्।

सभाले विभिन्न क्षेत्रका शैक्षिक समुदायहरू, विशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरूबिच सांस्कृतिक विचार आदान प्रदानलाई पनि बढवा दिने उनको भनाइ छ। सभाको अवधिमा सहभागीहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरूको बारेमा छलफल गर्नेछन् , जसमा विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, र पाठ्यक्रम विकास सहितका विषयहरू समावेश छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend