सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘उद्योगीका आवाज सुन्ने होइन, थुन्ने काम गर्ने सरकारको रवैया’: सिएनआई

‘उद्योगीका आवाज सुन्ने होइन, थुन्ने काम गर्ने सरकारको रवैया’: सिएनआई

१९ माघ, काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले निजी  क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । कसुर प्रमाणित नहुँदै राज्य आतंकको शैलीमा दाहाल सरकारले गरेको पक्राउले समस्त निजी क्षेत्र नै बेचैन बनेको हो।

बिहीबार पत्रकार सम्मेलन गर्दै सीएनआईले चौधरी यो देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी भएको र उनी देश छाडेर कतै जान नलागेको भए पनि राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो ।उद्योगीहरुले उद्योगीका आवाज ‘सुन्ने’ भन्दा पनि ‘थुन्ने’ काममा सरकार र प्रशासन अग्रसर हुँदा लगानीको वातावरण बिथोलिने चिन्ता व्यक्त गरेका छन् ।

कसूर प्रमाणित नहुँदै अनुसन्धानका नाममा वर्षौ पूराना बखेडा झिकेर ‘मानमर्दन’ हुने गरि पक्राउ गरेर उद्योगी व्यवसायीमाथि धरपकड गर्नु चिन्ताको विषय भएको उद्योगी व्यवसायीहरुको गुनासो छ । यसले स्वदेशी र विदेशी लगानी निरुत्साहित हुने, रोजगारी सिर्जनामा नकारात्मक असर पर्ने र फलतः राजस्वमा समेत गम्भीर धक्का लाग्ने उनीहरुको भनाइ छ ।

शंकाकै भरमा उद्योगी व्यवसायीलाई पक्राउ गर्नु न्यायसंगत भएनः परिसंघ अध्यक्ष राजेश अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र राजस्वमा उल्लेख्य योगदान गर्दै आएका उद्योगी व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु गलत भएको बताएका छन् । उद्योगी व्यवसायीमाथि शंकाकै भरमा धरपकड गरेर पक्राउ गर्नु न्यायसंगत नदेखिएको अध्यक्ष अग्रवालले बताए ।

 उद्योगपति चौधरी देशबाहिर भागेर जाने अवस्था समेत नरहेको अवस्थामा हठात् पक्राउ गर्नु गलत भएको उनले जिकिर गरे । बोलाएर सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै बिना कुनै सूचना पक्राउ गरिएकोले प्रक्रियामै आफूहरुको आपत्ति रहेको अध्यक्ष अग्रवालले प्रष्ट पारे । सूचना दिएर बोलाएर सोधपुछ पछि दोषी देखिए मात्रै पक्राउ गर्नुपर्नेमा आफ्नो कुरा राख्ने अवसर नै नदिई सिँधै प्रकाउ गर्नु गलत भएको र यस प्रकरणले निजी क्षेत्रमाथि नै मानमर्दन गरेको उनको भनाइ छ ।

पहिले नै मानमर्दन गरेर अनुसन्धान गर्नुको कुनै अर्थ हुँदैनः विष्णु अग्रवाल

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी करार नहुँदासम्म उद्योगी व्यवसायीलाई धरपकड गरेर पक्राउ गर्नु आपत्तिजनक भएको बताएका छन् । उद्योग व्यवसायमा लगानी गरेको व्यक्तिलाई देशै छोडेर भाग्छ जसरी धरपकड गरेर पक्राउ गरिनु आपत्तिजनक भएको उनको भनाइ छ ।

अनुसन्धानका नाममा प्रतिष्ठित उद्योगी व्यवसायीलाई पक्राउ गरेर नै मानमर्दन गरिसकेपछि हुने अनुसन्धानको कुनै अर्थ नभएको निवर्तमान अध्यक्ष अग्रवालले बताए । उनले दोषी करार नहुँदै उद्योगी व्यवसायीलाई पक्राउ गरेर उसले वर्षौ लगाएर आर्जन गरेको प्रतिष्ठामा धक्का लगाउने काम स्वीकार्य नहुने भन्दै चौधरीको रिहाईको माग समेत गरेका छन् ।

पहिले थुन्ने अनि सुन्ने पद्धति ठिक भएनः पूर्व अध्यक्ष शर्मा

नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले उद्योगी व्यवसायीको कुरै नसुनी सिँधै थुन्ने काम हुनु आपत्तिजनक भएको बताएका छन् । उनले ‘पहिले थुन्ने अनि सुन्ने’ भन्दा पनि ‘पहिला सुन्ने र उसका कुरा गलत भए त्यसपछि मात्रै थुन्ने’ प्रक्रियामा जानुपर्नेमा उल्टो गरि उद्योगी व्यवसायीमाथि धरपकडको शैली अपनाएर पक्राउ गरिनु गलत भएको बताए ।

कुनै उद्योगी व्यवसायीमाथि शंकाकै आधारमा धरपकड हुँदा देशमा गरिखाने माहोल बिग्रदै जाने जोखिम बढाएको उनले बताए । उनले जति औद्योगिक व्यवसायिक माहोल बिग्रन्छ, त्यति नै दीर्घकालिन लगानीको वातावरण बिग्रने भन्दै देशमा कानुनी शासन होस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

पूर्व अध्यक्ष शर्माले निगरानी र अध्ययनको जरामै नपुगी शंकाको भरमा उद्योगी व्यवसायीलाई समात्दै जाने कुरा स्वीकार्न नसकिने बताए । जग्गाको विषय भएकाले मालपोत, भूमिसुधार वा मन्त्रालय कसले गल्ती गरेको हो, त्यहीँ पुगेर अनुसन्धान हुनुपर्ने उनको माग छ ।

एकपछि अर्को गर्दै उद्योगी व्यवसायीलाई थुन्ने काम ठिक भएनः इप्पान अध्यक्ष कार्की

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले एक पछि अर्को अर्कै निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई समात्दै, थुन्दै गर्दा देशको आर्थिक विकासमै धक्का पुग्ने बताए । नेपालमा निजी क्षेत्रलाई सबै तिरबाट आक्रमण भइरहेको बताउँदै अध्यक्ष कार्कीले निजी क्षेत्रमा आवद्ध सबै उद्योगी व्यवसायीमाथि यसैगरि धरपकड हुँदै जाने हो भने भविष्यमा राज्यले निकै ठूलो संकट ब्यहोर्नुपर्ने चिन्ता व्यक्त गरे ।

‘दिनदिनै उद्योगी व्यवसायीहरुमाथि आक्रमण बढिरहेका छन्, विगतदेखि अहिलेसम्म नै यो क्रम जारी छ, यो निकै दुःखको कुरा हो’ उनले भने, ‘समस्या देखिएको भए त्यसको छानबिन गर्ने काम सरकारको हो, तर यसरी धरपकड गर्दै जानु ठिक भएन ।’

अध्यक्ष कार्कीले निष्पक्ष रुपमा समस्या निराकरण गर्न पनि माग गरे । यदि यस्ता समस्याहरु निराकरण नहुने र उद्योगी व्यवसायी थुनिँदै जाने हो भने देशले आर्थिक उन्नति गर्न नसक्ने उनको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend