खबरब्रेकिंग, काठमाडौँ, माघ १८ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजश्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
निर्यात व्यवसायी महासंघको स्थापना दिवसमा बिहीबार आयोजित कार्यक्रममा उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।
महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भने, ‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ ।’
महासंघले उठान गरेका सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्दै उनले सरकारले चाहँदाचाहँदै पनि देशमा आर्थिक स्रोतको कमिका कारण तत्काल सम्बोधन गर्न नसिएको र निकट भबिष्यमा निर्यातकर्तालाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, महतले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको बिषय उठाउन आवश्यक नरहेको बताए । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने बताए । महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्ने बताए ।
फिनका अध्यक्ष शंकरप्रसाद पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्याल, सांसद् गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, वाणिज्य सचिव नारायणप्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, पूर्वअर्थमन्त्री युवराज खतिवडा, पूर्वसचिव चन्द्रकुमार घिमिरेसहभागी थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend