१० माघ , काठमाडौं । कृषि क्षेत्रको समग्र विकासमा सघाउने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा यही माघ १२, १३ र १४ गते बृहत् अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालि र ईटीएसआईपीएलको संयुक्त आयोजनामा ‘छैटौँ नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो २०८०’ हुने भएको हो ।
उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका १ सयभन्दा बढी स्टलहरू रहने आयोजकले बताएका छन्।
प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम छ । प्रदर्शनीलाई सफल बनाउनका लागि प्रवर्द्धकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेका छन् ।
प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाईभैँसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषिलगायतका बारेमा जानकारी दिइने बताइएको छ ।
त्यसैगरी, प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिलगायत आमकृषकहरुले आधुनिक प्रविधिहरूको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर पाउने विश्वास गरिएको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुने तथा देशभरिबाट आउने कृषकहरूलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरूका बारेमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको सो प्रदर्शनीमा कृषिकर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने सानासाना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपन्छी पालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिनेछ ।
नेपालको कृषि क्षेत्रको यान्त्रीकिकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ । उक्त प्रदर्शनीबाट नेपालको कृषिक्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तिनको प्रयोगद्वारा कृषि उत्पादनमा वृद्धि भई मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउन टेवा पुग्ने बताइएको छ
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend