बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

साहस ऊर्जाले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने

साहस ऊर्जाले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने

३ माघ , काठमाडौं । साहस ऊर्जा लिमिटेडले निजी क्षेत्रबाट हालसम्मकै ठूलो ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण अघि बढाउने भएको छ । यसअघि निजी क्षेत्रबाट सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला (दूधकोसी) जलविद्युत् आयोजनाको सफल निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले  अहिले त्यसभन्दा तेब्बरभन्दा ठूलो आयोजनामा काम गर्ने भएको हो ।

यस आयोजनाको  विद्युत् खरिद सम्झौता र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट (इआइए) अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकले बताए ।

उनका अनुसार गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ र ३ तथा चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ मा आंशिक जलाशय आयोजनाको रूपमा उक्त आयोजना अघि बढाउन लागिएको हो । आयोजनाको बाँधस्थल र जलाशय चुमनब्री गाउँपालिका रहने गरी डिजाइन तयार पारिएको छ । बाँधस्थल र जलाशय मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । बाँकी संरचनाहरू संरक्षण क्षेत्रबाहिर पर्दछन् ।

आयोजनाबाट उच्च माग हुने समयमा दैनिक ४ देखि ६ घण्टासम्म विद्युत् पूर्ण क्षमतामा उत्पादन गर्न सकिने गरी निर्माण गर्न लागिएको  हो ।

आयोजनामा ६५ अर्ब लगानी हुने विगतको लागत अनुमान रहेको भए पनि हाल नयाँ लागत अनुमान निकालिएको छैन । आयोजनाबाट वार्षिक १८६७ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।

यो आयोजनाको जलाधार क्षेत्रफल ३६२८ वर्ग किलोमिटर रहने गरी डिजाइन गरिएको छ । आयोजनामा ५.८ किलोमिटर लामो हेडरेस टनेल निर्माण हुनेछ ।

टनेलमार्फत पानीलाई भूमिगत विद्युत्‌गृहमा पुर्‍याइनेछ । विद्युत्‌गृहमा ६ वटा ५७ मेगावाट क्षमताको टवाईन जडान हुनेछ । सो टवाईनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको सबै काम पूरा गरे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको विभिन्न संरचना निर्माणका लागि ५६.२२ हेक्टर जमिन चाहिने प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ४९.६२ हेक्टर स्थायी रूपमा र ६.६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्ने देखिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend