कम्पनीका अध्यक्ष संजिव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
त्यसै गरी सभाले समीक्षा आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन , वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०८०/८१ कोे लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरेको छ ।
कम्पनीको मातहतमा अहिले ४ वटा आयोजनाहरु संचालनमा रहेका छन् । कम्पनीको पहिलो जलविद्युत आयोजना धादिङ्ग जिल्लाको थाक्रे गाउँपालिकामा ५०० किलोवाट क्षमताको रैराङ खोला जलविद्युत आयोजना २०६१ सालदेखि संचालनमा छ भने दोस्रो आयोजना रीडी खोलामा २४०० किलोवाट क्षमताको रीडीखोला जलविद्युत आयोजनाको निर्माण २०६६ सालमा सम्पन्न गरी राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत आपूर्ति गरिरहेको छ ।
त्यसै गरी कम्पनीको तेस्रो आयोजना पाँचथर र ताप्लेजुङ जिल्लाहरुको सीमाना भएर बहने इवा खोलामा ९९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत आयोजनाको निर्माण पुरा भई २०७६ साल आश्विन २० गतेबाट व्यवसायिक उत्पादन गरी राष्ट्रिय ग्रीड प्रणालीमा विद्युत आपूर्ति गरिरहेको छ । चौथो आयोजनाको रुपमा लुम्बिनी प्रदेश, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा ८५०० किलोवाटको बुटवल ग्रिड जडित सौर्य विद्युत आयोजनाको निर्माण गरी २०७७ साल कार्तिक १५ गतेदेखि निरन्तर रुपमा व्यवसायिक उत्पादन गर्दै आईरहेको छ । यसरी सम्पूर्ण आयोजना गरी कम्पनीको मातहतमा कला कुल २१.३१ मेगावाटका विद्युत आयोजनाहरु संचालनमा रहेका छन् ।
रिडी पावर कम्पनीको लगानी रहेको साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले अहिले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनामा कुमारी बैंकको मुख्य लगानी रहेको छ । यस आयोजनामा लगानीकर्तालाई संस्थापक सेयरमा लगानी गर्ने अवसर दिइरहेको कम्पनीले जनाएको छ ।