खबरब्रेकिंग,काठमाडौँ पुस २८ गते । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उनले आफू जिल्लाका व्यवसायीहरूका कार्यक्रममा र वस्तुगत कार्यक्रमहरूमा जाँदा पनि व्यवसायीहरूले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रुपमा उठाइरहेको बताए ।

उनले उत्कृष्ट व्यवसायी सम्मान (सिआईपी) का क्रममा पनि आफूहरूले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे । उनले व्यावसायीको सम्मानको लागि सामान्य नीति बनाएर लागू गर्न सकिने बताए । उनले भने– ‘यहाँ निजी क्षेत्रका साथीहरुको चाहे जिल्लामा जाऔँ, चाहे वस्तुगत कार्यक्रमहरुमा होस् । निजी क्षेत्रको मर्यादाक्रमको विषयमा गम्भीर रुपले कुरा उठेको छ । सरकारको पैसा खर्च नभइकन, धेरै व्यवसायहरुलाई इन्करेज गरेर उनीहरुको व्यवसायिक एक्टिभिटी बढाउनलाई हौसला प्रदान गर्न सकिन्छ भने त्यस्तो किसिमको चाहे मर्यादाक्रमको कुरा होस्, सिआईपीको कुरा गरौँ । सिआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ । यो सिआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ । यस्ता समस्याहरु जहाँ नेपाल सरकारले खर्च नगरिकन निजी क्षेत्रलाई इन्करेज गर्ने हिसावका कुरा, चाहे मर्यादाक्रमको कुरा होस्, चाहे सिआईपीको कुरा होस् । चाहे अरु हौसला होस् यस्तो किसिमको चिज अघि बढाउँदा राम्रो हुन्छ ।’
कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार उद्योगी व्यवसायीहरूलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सरकार सकारात्मक रहेको बताए । अहिले समग्र मर्यादाक्रमका बारेमा मन्त्रालय र सरकारका अरु निकायहरूको बीचमा छलफल भइरहेको भन्दै कसरी टुंगोमा पुग्ने भन्नेकुराको छलफल जारी रहेको उल्लेख गरे । उनले चाँडै नै उद्योगीहरूको समस्या समाधानका लागि प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरु सम्बन्धित निकायहरू सहितको बैठक बोलाउने पनि जनाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend