२७ पुष , काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
दिव्योपदेश उत्तिकै सान्दर्भिक : राष्ट्रपति पौडेल

राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरे ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना समेत व्यक्त गरेका छन् ।
“पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ”, राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन्, “यही आधारभूमिमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा पाएका छौँ । स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले विर्सन हुँदैन ।”
राष्ट्रपति पौडेलले राष्ट्रिय एकता दिवसले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend