बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नु मेरो काम: पूर्व राजा

सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नु मेरो काम: पूर्व राजा

 

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो काम सबै नेपाली लाई एकताको सूत्रमा बाँध्नु रहेकोे बताएका छन् । आज (पुष १७)  राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरुसङ्गको भेटमा  पूर्व राजा शाहले आँफुले ऐतिहासिक राजसंस्थाको प्रतिनिधित्व गर्ने र सबै नेपाली बराबर रहेका बताएका हुन। भैरहवास्थित  पूर्वराजा बसेको होटलमा सामूहिक भेटवार्ता भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह भैरहवा गएका हुन् ।

स्रोतका अनुसार पूर्वराजाबाटै उनीहरुलाई बोलावट आएको थियो । भेटघाटको विषयवस्तु भने थाहा हुन सकेको छैन । पूर्वराजा आफ्ना परिवारका सदस्यहरुसहित नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवा छन् ।

राजाले राप्रपाका नेताहरुलाई उतै बोलाउनु अर्थपूर्ण मानिएको छ । सार्वजनिक भएको  तस्बिरमा पाँचैजना नेताहरु दौरासुरुवालमा सजिएका छन् ।

राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रले पूर्वराजाको भनाइ उद्वृत गर्दै लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौं/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन् ।’

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यो नियमित भेटघाट भएको बताए ।

उनले भने, ‘राजसंस्थाको एजेन्डा बोकेको पार्टीका नेताहरुको पूर्वराजासँग नियमित नै भेटघाट हुन्छ । यो असामान्य होइन ।’

पूर्वराजा ज्ञानेन्द्रलाई भाेलि भैरहवामा नागरिक अभिनन्दन गरिने कार्यक्रममा नेताहरू आएका हुन् । शाह दुईवटा साता यता रूपन्देही बसेका छन् । यहीँबाट कपिलवस्तु तथा नवलपरासीमा पुगेर उनले अभिनन्दन ग्रहण गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend