बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

तरकारी फलफूल साकोसको १५.५ प्रतिशत लाभांश पारित

तरकारी फलफूल साकोसको १५.५ प्रतिशत लाभांश पारित

काठमाडौं । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाले १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यही पुस १४ गते शनिबार सम्पन्न सहकारीको २४ औं साधारणसभाबाट संस्थाले आर्थिक वर्ष २०८९/०८० को नाफाबाट सदस्यहरुलाई १५.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिएका छन् । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन तथा आर्थिक विवरण पारित गरेको छ।

सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उद्घाटन समारोहकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्थाहरु खराब नरहेको बताएकी छन्। तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न २४औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले पछिल्लो समय केहि  सहकारीमा समस्या देखिएको भए पनि सबै सहकारी खराब नभएको  बताइन्।

तरकारी फलफूल साकोसका आर्थिक सूचकांक र गतिविधिबारे अध्ययन गरेपछि उनले सुशासनबाट चलेका यस्ता सहकारी पनि रहेको तर्क गरेकी हुन्। कालिमाटी तरकारी बजारका व्यवसायीहरुले संचालन गरेको तरकारी फलफूल साकोसबारे आफू राम्रो जानकार रहेको भन्दै उनले उक्त सहकारी सुशासनमा संचालन भइरहेको आफूले पाएको बताइन्।

विगतको स्मरण गर्दै तरकारी बजारका व्यवसायीले निःशुल्क उपलब्ध गराउने तरकारीका कारण कोभिड १९ को महामारी चलेका बेला आफूले दुई वर्षसम्म लाखौँ नागरिकलाई खाना खुवाउन सकेको उनलेे बताइन् । उनले त्यसरी सेवा दिइरहेका व्यक्तिहरु मिलेर चलेको सहकारीले आफ्ना सेयर सदस्यहरुलाई पनि धेरै किसिमका सेवा दिएको आफूले पाएको उनको भनाइ थियो।

हाल आफू विभिन्न अध्यादेशहरुको अध्ययनमा व्यस्त रहेको भन्दै उनले सहकारी अभियानलाई अझ बढी आफ्ना सेयर सदस्यहरुको आर्थिक जीवनस्तर उकास्ने माध्यम बनाउनुपर्ने धारणा राखिन्। उनले सहकारी साक्षारता, आर्थिक साक्षारता वृद्धिमा काम गर्न पनि सुझाव दिइन्।

उद्घाटन समारोहका विशिष्ट अतिथि बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले तरकारी फलफूल साकोस सुशासनमा चलेको आफूले पाएको चर्चा गरे। सहकारीका सूचकांकहरुको अध्ययन गर्दा यसले आफ्ना सेयर सदस्यहरुलाई केन्द्रमा राखेर धेरै सिर्जनशील काम गरेको, सेयर सदस्यहरुको आर्थिक विकासमा टेवा पुर्याएको आफूले पाएको उनको भनाइ थियो।

विशेष अतिथिका रुपमा सम्बोधन गर्दै सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले पनि साकोसको आर्थिक विवरणको सरसर्ती अध्ययन गर्दा सुशासनमा संचालन भइरहेको आफूले पाएको बताए। आफू नियमनकारी निकायको प्रतिनिधि भएको नाताले आफूले सहकारीभित्रका विकृति सुधारका निम्ति प्रयास गरिरहेको भन्दै उनले अझ बढी सदस्यमुखी बन्न सुझाव दिए।

मुलुकको अर्थतन्त्रका तीनमध्ये एक खम्बा भए पनि सहकारी संस्थाहरुमा समस्या देखिएकाले कानुनी व्यवस्था गरेरै समाधान खोज्न प्रदेश सरकार प्रयासरत रहेको उनले बताए। साधारणसभाले १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको सहकारी संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिए।

कार्यक्रममा उक्त सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका तत्कालिन डिभिजन सहकारी कार्यालयका वरिष्ठ सहकारी अधिकृत केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुंगानालाई सम्मान गरिएको थियो। यसैगरी, सहकारी संस्थाका सेयर सदस्यहरुका छोराछोरीमध्येबाट गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल २२ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

नियमित बचतकर्तामध्येबाट असल बचतकर्ताका रुपमा कविता श्रेष्ठ, विन्दुलाल श्रेष्ठ, लक्ष्मण श्रेष्ठ र आकृति लामा, असल ऋणी सम्मानबाट सुनिता गोपाली, भरतप्रसाद पुडासैनी, मदन श्रेष्ठ र प्रसिद्धा स्यांगतानलाई सम्मान गरिएको थियो। यसैगरी, उत्कृष्ट कर्मचारी मन्दिरा बिँडारीलाई सम्मानसमेत प्रदान गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले बताइन्।

२०५६ साल माघ २१ गते ३० जना सदस्यहरूले ३१ हजार ९ सय सेयरपुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल २४ सयभन्दा बढी सेयर सदस्य रहेका छन्। आर्थिक वर्ष २०७९/०८० मा सेयर पुँजी ६ करोड ९५ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै बचत रकम ४४ करोड ६५ लाख लाख ३२ हजार ३ सय ३४ रुपैयाँ, ऋण लगानी ४६ करोड एक लाख ९८ हजार ८ सय ४२ रुपैयाँ रहेकाे छ

संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ५४ लाख ६ हजार २ सय ५४ रुपैयाँ संचालन मुनाफा गरेकाे छ । संस्थाकाे जगेडा तथा अन्य काेषमा काेषमा १० करोड ९३ लाख रहेकाे छ । संस्थाकाे वासलात ६६ करोड ११ लाख रुपैयाँ रहेकाे छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend