काठमाडौं । न्यूरोडस्थित श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षमा आगामी चार वर्षको कार्यकालको लागि पुनः कृष्ण धिताल चयन भएका छन् ।

यही पुस ७ गते शनिबार सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले धितालको नेतृत्वमा सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचन सम्पन्न गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सयुज रञ्जित, सचिवमा अजय श्रेष्ठ, कोषाध्यक्षमा विजय कुमार सिग्देल रहेका छन् । त्यस्तै सदस्यहरुमा रविन्द्र पराजुली, अनिल बर्मा र हरि भट्ट निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा सुरेश महर्जन र सदस्यहरुमा टेकलाल श्रेष्ठ र अर्जुन श्रेष्ठ चयन भएको छ ।
संस्थाका जेष्ठ सदस्य गोपाल अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी बैंकका न्युरोड शाखा प्रमुख रमा घिमिरे , जेष्ट आइडोलोजी बचत तथा ऋण सहकारीका अध्यक्ष हेम बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न विधामा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष धितालले प्रस्तुत गरेका संस्थाको वार्षिक प्रगति प्रतिवेदन ,कोषाध्यक्षको आय व्ययको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लगायत एजेण्डामा छलफल गरी पारित गरेको छ ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कृष्ण धितालले वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा सेयर पुँजी २ करोड ८७ लाख, जगेडा कोष ३८ लाख, अन्य कोष ६३ लाख, निक्षेप ८ करोड ९८ लाख, कर्जा लगानी ११ करोड ७१ लाख, कर्जा जोखिमको व्यवस्था ३८ लाख ५७ हजार र नाफा रु. ३७ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend