८ पुस , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केही सञ्चारमाध्यम र स्वार्थ समुहले पार्टी र सभापति रवि लामिछानेबारेमा कुप्रचार गरिरहेका जनाएको छ।
पार्टीले हिजो पोखराको अमरसिंह चोकमा आयोजित सभामा मन्तव्य दिँदै गर्दा सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरिएको सन्दर्भलाई केही सञ्चारमाध्यमले अत्यन्तै निकृष्ट रुपमा प्रचार गरेकोको भन्दै आपत्ति जनाएको हो।
रास्वपाका प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै तथ्यलाई पूरै वेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर प्रवाह गरिएको भन्दै आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा भनिएको छ- सार्वजनिक व्यक्ति भएकाले नेता विशेषको आलोचना वा तिनकाप्रति जनप्रतिक्रिया आउनु स्वभाविक हो । यद्यपि, पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन । यसबारे न प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन् । सभापति लामिछानेसँग त झनै सोधिएको छैन ।
रास्वपा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध छ। तथापि, भ्रमपूर्ण समाचार प्रेषित गर्नु स्वतन्त्र पत्रकारिताको मर्म विपरीत हो ।
हिजोका घटनालाई लिएर केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रेषित गरेर सभापति लामिछानेको चरित्रहत्यासँगै सिङ्गो पार्टीको उदीयमान छविलाई धुमिल बनाउने प्रयास पनि गरेका छन्- विज्ञप्तिमा भनिएको छ।
स्वच्छ र मर्यादित हुनुपर्ने पत्रकारिताको धर्मलाई स्वार्थको बन्धक बनाएर गरिने यस्ता गलत हर्कत अविलम्ब बन्द गर्न र सूचना समाचार प्रेषित गर्दा सन्तुलनको सिद्धान्त ख्याल राख्न आग्रह गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend