२४ मंसिर ,काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचार विरुद्ध प्रभावकारी र परिणाममुखी कार्य गर्न तत्परता नदेखाएको भन्दै नेपाल असफल राष्ट्र बन्ने पूर्व संकेत देखिन थालेको बताएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९) का सन्दर्भमा शुक्रवार वक्तव्य जारी गर्दै नेपालमा निरन्तर भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता र चासो व्यक्त गरेको हो । टीआइले मुलुकमा निरन्तर बढ्दै गएको भ्रष्टाचार, अवैध सम्पत्तिको व्यापक चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगी असफल राष्ट्र बनाउन सक्नेतर्फ स्पष्ट शब्दमा संसद, सरकार र मुलुकका सबै राजनीतिक दलको बारम्बार ध्यानाकर्षण गराउँदै आएको स्मरण पनि गराएको छ ।
‘तथापि मुलुकको जिम्मेवारी लिएर बसेका कुनै पनि पक्षले यिनका विरुद्ध प्रभावकारी एवं परिणाममुखी कार्य गर्न तत्परता नदेखाएकोमा विषयको गम्भीरता आत्मसात् गर्न नसकेको वा नचाहेको महसुस हुन थालेको छ’, टीआइले भनेको छ, ‘देशलाई खोक्रो बनाउँदै लगेका गम्भीर विकृतिहरू निर्मूल गर्न निर्णायक कदम नचालिएसम्म जतिसुकै चर्का नारा, ठुला भाषण र छिनमै सेलाउने मौसमी तत्परताको कुनै अर्थ नरहने सर्वविदितै छ ।’
अध्यक्ष पद्यिनी प्रधानाङ्गले जारी गरेको वक्तव्यमा दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरू बिचको सीमारेखा धमिलिँदै गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसंकेत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न नसकिने उल्लेख छ
‘दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरू बिचको सीमारेखा धमिलिँदै गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसंकेत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न सकिँदैन’, वक्तव्यमा भनिएको छ ।
टीआइले अवैध तरीकाले आर्जित धनलाई स्वतः वैध तुल्याउने बाटो खोल्ने, व्यक्ति र समूह विशेषको निहित स्वार्थ–पोषणप्रति अभिलक्षित निर्णयलाई नीतिगत निर्णयको नाम दिएर छानबिनको दायराभन्दा बाहिर राख्ने, ठुला भ्रष्टाचारका मुद्दाहरूमा कारबाही नै नचल्ने र चले पनि तिनमा संलग्न उच्चपदस्थहरूले उन्मुक्ति पाउने, राष्ट्रिय ढुकुटीको रकम अनुत्पादक कार्यमा खर्च गर्ने असङ्ख्य गल्छेडा खोल्दै जाने, पर्याप्त आम्दानीको कुनै दृश्य स्रोत नभएका सार्वजनिक व्यक्तिहरूको विलासितापूर्ण जीवन र अकूत सम्पत्तिको कहिल्यै छानविन नहुने, अदालतले जघन्य फौजदारी अपराधमा दोषी ठह¥याएका व्यक्तिहरूको सजाय मिनाहा गर्ने जस्ता मुलुकको कानून, न्याय प्रणाली र लोकलाज समेतलाई उपेक्षा गर्ने कृत्यहरूको अन्तहीन श्रृंखला तत्काल बन्द गर्न टीआई नेपाल संसद, सरकार र सबै राजनीतिक दलहरूको पुनः गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निरन्तर खस्कँदो अर्थतन्त्रलाई गति दिन समेत भ्रष्टाचार र कुशासनको अन्त्य गरी मुलुकलाई सदाचार र सुशासनको बाटोमा अघि बढाउनु जरुरी छ भन्ने टीआई नेपालको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend