बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनी लिमिटेडमा परिणत, आईपिओ आउँदै

राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनी लिमिटेडमा परिणत, आईपिओ आउँदै

खबरब्रेकिंग, काठमाडौं, मङ्सिर २२ गते । राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले एक सूचना जारी गर्दै सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई रुपान्तरणको आधिकारिक प्रमाणपत्र जारी गरिएको जानकारी दिएको हो ।

प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको हो । यससँगै अब साविकको राष्ट्रिय बीमा संस्थानले राष्ट्रिय जीवन बीमा कम्पनीको नामबाट बीमा ऐन, २०७९ बमोजिमको जीवन बीमा व्यवसाय गर्ने छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १६ गते र प्राधिकरणको मंसिर १३ गतेको निर्णयबमोजिम साविकको राष्ट्रिय बीमा संस्थानलाई बीमा ऐन २०७९ को दफा १७२ को उपदफा (३) को खण्ड (क), (ख), (ग) र (घ) को व्यवस्थाबमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा कात्तिक २० गते राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा परिणत गरी दर्ता अभिलेख भएको हो ।

प्राधिकरणले बीमा ऐन, २०७९ का दफा ६१ को उपदफा (१) को खण्ड (क) बमोजिमको जीवन बीमा व्यवसाय गर्नेगरी जीवन बीमकको प्रमाणपत्र जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

अब पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नुपर्ने छ । ऐन अनुसार कम्पनीले एक वर्षभित्रमा पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने, संस्थापक सेयरधनीको तर्फबाट ७० प्रतिशत अर्थात ३ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने र सर्वसाधारणलाई ३० प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्नुपर्ने हुन्छ ।

संस्थापकले पैसा थपेपछि पनि सर्वसाधारणको लागि सेयर निष्काशन प्रक्रिया भने अझै धेरे समय लम्बिने भएको छ । संस्थानले विगत ५ वर्षदेखिको हिसाब लेखापरीक्षण गराउन र साधारणसभा गराउन सकेको छैन । अन्तिम आर्थिक वर्षको लेखापरीक्षण र साधारणसभा नगरेका कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्न पाउँदैनन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend