शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

जेष्ट आइडियोलोजी साकोसको १४औं साधारणसभा; वासलातलाई गुणात्मक बनाउने अध्यक्ष कार्कीको प्रतिबद्धता

जेष्ट आइडियोलोजी साकोसको १४औं साधारणसभा; वासलातलाई गुणात्मक बनाउने अध्यक्ष कार्कीको प्रतिबद्धता

२३ असोज , काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको सभापतित्व र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो।

यही असोज २२ गते सोमबार बबरमहलस्थित कार्की व्याङ्क्वेटमा सम्पन्न उक्त साधारणसभाको कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठ , राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की , नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश कुमार अग्रवाल , खिचापोखरी व्यापार संघका अध्यक्ष सागर शाक्य , राष्ट्रिय सहकारी बैंकका न्युरोड शाखा प्रमुख रमा घिमिरे लगायतको समुपस्थिती रहेको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोषबाट सदस्यहरुलाई ११ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा जेष्ट आइडियोलोजी साकोसमा जम्मा ५८५५ सदस्यहरुबाट चुक्ता शेयरपूँजी रु.१० करोड १४ लाख ५० हजार ६ सय रहेको छ।

त्यस्तै , समिक्षा आ. व. को कुल निक्षेप रु.१ अर्व ११ करोड ९० लाख ७० हजार १ सय ४७ तथा कर्जा तथा सापटी १ अर्व ६६ करोड २४ लाख ५३ हजार २ सय ३३ रहेको संस्थाले जनाएको छ।

कुल सम्पत्ति रु. १ अर्व ९२ करोड ८१ लाख २३ हजार ७ सय २० रहेको सहकारीको जगेडा तथा अन्य कोषमा रु. २० करोड ७२ लाख ५५ हजार ३ सय ४८ मौज्दात रहेको छ। आयकर अगाडि संस्थाको बचत रु. २ करोड ७६ लाख ३७ हजार ७ सय ८२ रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र मल्लले सहकारी क्षेत्रले अब कृषि तथा औद्योगिक उत्पादन , पर्यटन र पूर्वाधार विकासको योजनाहरुमा पनि काम गर्नुपरे आवश्यकता औंल्याए ।

संस्थाका अध्यक्ष हेम बहादुर कार्कीले संस्थाले “जेष्ट आइडियोलोजी स्मार्ट” मोबाइल बैंकिङ्ग एप बाट QR भुक्तानी सेवा , Wallet Transfer, Fonepay, Connect IPS लगायतका प्रविधिमैत्री सेवा अवलम्बन गरेको जानकारी दिए। संस्थाको दिगो विकास गर्न वासलातलाई थप मजबुत बनाउन संख्यात्मक मात्र होइन, गुणात्मक बनाउने लक्ष्य तथा कार्यक्रम रहेको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend