शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

टानको ४५औं साधारणसभा ; ‘टिम्स’ को पूर्ण कार्यान्वयनका लागि अध्यक्ष बास्तोलाको आग्रह

टानको ४५औं साधारणसभा ; ‘टिम्स’ को पूर्ण कार्यान्वयनका लागि अध्यक्ष बास्तोलाको आग्रह

१५ असोज , काठमाडौं ।ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष निलहरी बास्तोलाको सभापतित्व र  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा यही असोज १४ गते आइतबार उक्त साधारणसभा सम्पन्न भएको हो।

 कार्यक्रममा मन्त्री किरातीले  पाँच–सात महिना भित्र १० ओटा जहाज थप्ने बताएका छन। उनले  जहाज राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे । जहाजले नेपालको पर्यटनमा ठूलो योगदान गर्ने उनले बताए ।

 मन्त्री किरातीले गणतन्त्रलाई बोक्न सक्ने कानुन नभएको र नीजि संस्थालाई हेर्ने दृष्टिकोण नै सरकारको गलत रहेको भन्दै अब ऐन संशोधन गरेर अघि बढ्ने भन्दै  भाषण गरे।

टानका अध्यक्ष निलहरी बास्तोलाले विभिन्न १२ बुँदामा पर्यटन मन्त्रीलाई पर्वतीय पर्यटन क्षेत्रमा सुधार गरिनुपर्ने नीतिगत एवम् कार्यक्रमहरुका बारेमा जानकारी गराए। १२ बुँदामा टिम्स लाई प्रभावकारी र पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि पर्वतीय पर्यटन क्षेत्रका तर्फबाट तीनै तहका सरकारलाई प्राप्त हुने राजश्व वृद्धि गर्न र लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीको सृजना गर्नका लागि उनले आग्रह गरे ।

१२ ओटा माग बुँदागतरुपमा यस्ता छन्ः

१) टिम्स लाई प्रभावकारी रुपमा र पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि पर्वतीय पर्यटन क्षेत्रका तर्फबाट तीनै तहका सरकारलाई प्राप्त हुने राजश्व वृद्धि गर्न र लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीको सृजना गर्नका लागि अनुरोध गर्न चाहन्छु ।

२) सडक सञ्जालको विस्तारका कारण ऐतिहासिक पदयात्रा मार्गहरु समेत नाश भई पर्यटकको बसाई अवधि छोटिएका कारण पर्यटकको खर्च र सन्तुष्टिमा पनि व्यापक गिरावट आइरहेका कारण महत्वपूर्ण पदयात्रा मार्गहरुलाई कानूनी रुपमै राष्ट्रिय र प्रादेशिक पदमार्गका रुपमा घोषणा गरी संरक्षण र प्रवद्र्धन गर्नुपर्ने ।

३) दक्षिण एशिया क्षेत्रमा नेपालको पर्वतीय पर्यटनको प्रतिस्पर्धात्मक क्षमतामा गिरावट आइरहेको अवस्थालाई मध्यनजर गर्दै नेपालको पर्वतीय पर्यटन र समग्र पर्यटन क्षेत्रको गुणस्तर पूर्वाधार विकास र विश्व पर्यटन बजारमा पर्वतीय पर्यटनको प्रवद्र्धनमा टान लगायत नीजि क्षेत्रहरुको पहुँच विस्तारमा सहयोग गरिनुपर्ने ।

४) पर्यटन दशकलाई सफल बनाउनका लागि पर्यटन उत्पादन र सेक्टर अनुसार पर्यटन एशोसियशनहरुसँग बसेर पर्यटन दशक कार्ययोजना तयार गरी लागू गर्नुपर्ने ।

५) पर्यटन व्यवसायीहरुले पर्यटकहरु भित्र्याएर राज्यलाई राजश्व बुझाएवापत व्यवसायीहरुलाई राज्यको तर्फबाट पोत्साहन प्याकेज उपलब्ध गर्न नीतिगत व्यवस्था गर्नुपर्ने ।

६) पर्वतीय पर्यटन गन्तव्यहरुमा रहेका पर्यटन व्यवसायी तथा सेवा प्रवाहीहरु प्यान र भ्याट को दायरामा नगएका कारण व्यवसायीले समस्या भोगिरहनुपरेकाले प्रदेश र स्थानीय सरकारसँग समेत समन्वय गरी उक्त व्यवसायीहरुलाई ट्याक्सको दायरामा ल्याई मेन्युलाई व्यवस्थित गर्नुपर्ने ।

७) कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र पूर्व नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुलाई विकाश र प्रवद्र्धन गर्नका लागि पर्यटन व्यवसायहरुलाई प्रोत्साहन प्याकेज प्रदान गरी प्रवद्र्धन र बजारीकरणमा टान जस्ता संस्थाहरुलाई समेत समावेश गर्नुपर्ने ।

८) डिजीटल मार्केटिङ र डिजिटल सर्भिसको आजको युगमा पर्यटकहरुलाई पर्वतीय क्षेत्रमा समेत सहज रुपमा ईन्टरनेट सेवा उपलब्ध गराउनका लागि मन्त्रालयले पहलकदमी लिनुपर्ने ।

९) जलवायु परिवर्तनलगायतका कारण पर्वतीय पर्यटन थप जोखिमपूर्ण बन्दै गइरहेकाले मौसम सम्बन्धी सूचना रेस्यु, आपत्कालिन उद्दारलगायतका विषयहरुमा नीतिगत सहजीकरण गर्न, पूर्वाधार विकास गर्न र नीजि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने ।

१०) पर्या–पर्यटन, कृषि पर्यटन, आध्यात्मिक पर्यटन, साहसीक खेल पर्यटन, अध्ययन पर्यटन, सांस्कृतिक पर्यटन, वन्यजन्तु पर्यटनलगायतका नयाँ पर्यटनका आयमहरुलाई पदयात्रा पर्यटनसँग एकीकृत गर्नका लागि नीतिगत व्यवस्था, क्षमता विकास र प्रवद्र्धनमा सहयोग हुनुपर्ने ।

११) भारत र चीन विश्वका दुईवटा उदीयमान शक्ति राष्ट्रहरु हाम्रा महत्वपूर्ण पर्यटन बजारहरु हुन् । पश्चिमा पर्यटन र उनीहरुको पर्यटन क्षेत्रको माग, चाहना र स्वभावमा व्यापक फरक छ । अतः हामीले हाम्रो पर्वतीय पर्यटन गन्तव्यहरुलाई भारत र चीनको पर्यटनमैत्री बनाउन सोही अनुसारको सत्कार, पर्यटन प्याकेज, सेवा र सुबिधा, पूर्वाधार र क्षमता क्षमता विकासमा लगानी गर्नुपर्दछ ।

१२) साहसिक पर्वतीय पर्यटन नै नेपालको पहिचान भएका कारण नेपालको साहसिक पर्यटनको प्रवद्र्धन कार्यक्रम गर्दा टानजस्ता संस्थाहरुलाई जिम्मेवार बनाई ‘एडभेन्चर ट्राभल मार्ट’ जस्ता कार्यक्रम आयोजना गर्न भूमिका उपलब्ध गराउनुपर्ने ।

कार्यक्रममा टानका पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, टानका पूर्व अध्यक्ष रमेश धमलालगायतले पनि सम्वोधन गरेका थिए । कार्यक्रममा टानका संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend