शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सहकारीमार्फत आर्थिक अपचलनमा जीबी राईसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सहकारीमार्फत आर्थिक अपचलनमा जीबी राईसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

१४असोज, काठमाडौं ।  सहकारीमार्फत आर्थिक अपचलन गरेको आरोपमा संचालकहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। देशभर  सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) र कुमार रम्तेलविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ ।

यसअघि नै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले पनि राई र रम्तेल सहित १३ जनालाई पक्राउ पुर्जी जारी  गरिसकेको छ ।

जीबी राई सहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयल पर्साको प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरीको आधारमा सहकारीका संस्थापक राई सहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला अदालत पर्साले सानो पाइला बचत तथा ऋण सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जीबी राई), वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर विरुद्ध पक्राउ पुर्जी जारी भएको थापाले बताए । सहकारीका पूर्व कोषाध्यक्ष कुमार रम्तेल विरुद्ध पनि पक्राउ पुजी जारी भएको छ ।

यस्तै सहकारीका सञ्चालक समिति सदस्यहरु देबेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

सहकारीकी पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्वसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । कर्जा अधिकृत राधेचन्द्र यादव भने पक्राउ परेको प्रहरी नायब उपरिक्षक थापाले बताए ।

पक्राउ पुर्जी जारी भएकामध्ये संस्थापक जीबी राई र अध्यक्ष अनन्तबाबु राई दाजुभाइ हुन् । यस्तै सहकारीका पूर्वसचिव तस्वीरन मियाँ र प्रबन्धक असरफ अलि सिद्धिकी पति–पत्नी हुन् ।

देशभरीका प्रमुख शहरमा सहकारीको नेटवर्क खडा गरी सर्वसाधारण बचतकर्ताको रकम सहकारी मार्फत जीबी राईसहितको समूहले दुरुपयोग गर्दै आएको थियो ।

जीबी राई समूहले पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगञ्जमा समनता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकराी संस्था, वीरगञ्जमा सोना पाइला बचत तथा ऋण सहकारी संस्था चलाउँदै आएको थियो ।

यस बाहेक काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देशीय सहकारी संस्था राईकै नेतृत्वमा सञ्चालनमा छ । यसबाहेक काठमाडौंमै उनको समूहले लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र कल्याण उपकार बचत तथा ऋण सहकारी संस्था पनि सञ्चालन गरेको थियो । राई र उनको समूहले सञ्चालन गरेको ९ वटै संस्थाले १ वर्षदेखि बचकर्तालाई सावाँ मात्रै नभएर ब्याज समेत दिएको छैन ।

राई स्वर्णलक्ष्मी, समनता र हाम्रो नयाँ कृषि सहकारी संस्थामा अध्यक्ष छन् । उनकै समूहका कुमार रम्तेत पनि ४ वटा सहकारी संस्थामा सञ्चालक छन् । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा जीबी राई संस्थापक हुन् । हाल संस्थाको अध्यक्षमा उनको दाई अनन्तबाबु राई छन् ।

उनकै व्यावसायिक साझेदार कुमार रम्तेल सहकारीको कोषध्यक्ष छन् । पोखराको सूयर्दशन बचत तथा ऋण सहकराी संस्थाको ठगिमा पक्राउ पुर्जी जारी भएको कुमार रम्तेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ । जीबी राई भने हाल फरार छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते एक सूचना जारी गरी १५ भदौसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीमा ९७१ जनाले उजुरी दिंदा १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग भएको प्रहरी कास्की प्रहरीले जनााएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend