शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नवकान्तिपुर सहकारीको २६औं वार्षिक साधारणसभा सम्पन्न , प्रतिवेदनहरु पारित

नवकान्तिपुर सहकारीको २६औं वार्षिक साधारणसभा सम्पन्न , प्रतिवेदनहरु पारित

७ असोज , काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडालको प्रमुख आतिथ्यमा यही असोज ७ गते आइतबार सम्पन्न भएको उक्त साधारणसभामा अडिटर्स एसोसिएसनका पूर्वअध्यक्ष कमल खरेल , काठमाडौं महानगरपालिका वडा नं ९ का अध्यक्ष रामजी भण्डारी, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि केशव बडालले नेपालको संविधान २०७२ ले सहकारीसहित तिनखम्बे अर्थनीति अवलम्बन गरेकोले अर्थतन्त्र मजबुत बनाउनको लागि सहकारी क्षेत्रको सबल हुनुपर्ने बताए । सहकारीले सामाजिक न्याय र उत्पादन वृद्धिमा योगदान गर्नुपर्नेमा उनले जोड दिए।

‘तर वर्तमान सरकारले यस आर्थिक वर्षको बजेटमा सहकारी ले तिर्नुपर्ने करमा एकैपटक धेरै वृद्धि गरेको छ। यसबाट यो सरकार सहकारीमैत्री नरहेको प्रष्ट हुन्छ’ , उनले भने , ‘राज्यको लगानी बिना अर्थतन्त्रमा धेरै टेवा पुर्याउने सहकारीलाई राज्यले यसरी उपेक्षा गर्न मिल्दैन ।’

कार्यक्रममा अध्यक्ष सिटौलाले आगामी समयमा संस्थाले सहकारी क्षेत्रका असल अभ्यासहरुलाई अनुशरण गर्दै सदस्य सेवाकेन्द्र थप गर्ने बताएका छन। त्यस्तै , का.म.न.पा. ८ स्थित जयवागेश्वरीमा संस्थाको नाममा रहेको १३ आना जग्गामा संस्थागत भवन निर्माण प्रक्रिया शुरु गर्ने उनले बताए । साधारणसभामा प्रस्तावित चार तल्ले भवनको मल्लकालिन आर्किटेक्चरबारे सदस्यहरुलाई जानकारी दिइएको थियो।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा चुक्ता पूँजी रु. ९ करोड ७७ लाख १५ हजार रहेको ( गत आ.व.को तुलनामा २२.४६% वृद्धि ) संस्थाले यस वर्ष रु. १ करोड ४ लाख ७९ हजार ८ सय ५० खुद मुनाफा आर्जन गरेको जनाएको छ।

संस्थाले आ.व. २०७९/०८० मा शेयर लाभांश कोषबाट शेयर सदस्यहरुलाई ४.७५% लाभांश ( करसहित ) प्रदान गरेको छ,जुन अघिल्लो आ.व. मा १८% रहेको थियो।

कार्यक्रममा संस्थाका जेष्ठ सदस्यहरु, उत्कृष्ट सदस्यहरु, उत्कृष्ट कर्मचारी , विद्यार्थी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend