काठमाडौँ, असोज ३ गते । काठमाडौँ उपत्यकामा आजबाट पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उद्घाटन बिहान ९ बजे हुनेछ । संविधान दिवसको अवसर पारेर आज देखि उद्घाटन गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी , सूर्य विनायक नगरपालिकाका मेयरहरू मात्र चढ्ने छन्।
अरू सार्वजनिक बसलाई रत्नपार्क-सूर्य विनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्य विनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर , जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरूमा पनि द्रुत सेवाका बसहरू रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।
यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार ‘द्रुत बस सेवा’ भनेर लेखिएका बस सेवाको बुधवार उद्घाटनको दिन यात्रुहरू चढ्न पाउने छैनन् । यात्रुहरूका लागि भने भोली अर्थात् असोज ४ गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend