२८ भदौ ,काठमाडौं । मेयर बालेन शाह विश्वका सय उदाउँदा र प्रभावशाली नेताको सूचीमा परेका छन्।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेनलाई विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा समेटेको हो।
आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो।
त्यसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन्।
टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको बताएको छ।
बालेनले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ।
पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ।
बालेनकै प्रभावको आलोकमा ३ सय ८५ जना स्वतन्त्रहरूले पुराना र पाका उम्मेदवारहरूलाई पाखा लगाएको पनि टाइमले उल्लेख गरेको छ।
सन् २०१५ (२०७२ वैशाख १२ र २९) को भूकम्पले तहसनसह बनाएको काठमाडौंमा सरल वाचा प्रस्तुत गरेर आफ्नो छवि विस्तार गरेको पनि म्यागेजिनले सन्दर्भ जोडेको छ।
उपयुक्त ढंगले फोहोर व्यवस्थापन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक, र शहरी विकासको साथसाथै सांस्कृतिक सम्पदाको संरक्षण बालेनको प्रतिबद्धताभित्र परेको म्यागेजिनले उल्लेख गरेको छ।
बालेनले ल्यान्डफिल साइट प्रयोग गर्न विभिन्न सम्झौतामा हस्ताक्षर गरेको र फोहोरको वर्गीकरण पनि थालेकोसमेत उल्लेख छ।
त्यस्तै गैरकानूनी मानिने घरहरू भत्काउँदा सहरी गरिबमा त्यसको असर परेको र बालेन आलोचनाको घेराभित्र परेको पनि म्यागेजिनले सन्दर्भ जोडेको छ।
म्यागेजिनको सय उदीयमान नेताको सूचीमा युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेट्सोला, स्कटल्यान्डका फर्सट मिनिस्ट हम्जा युसुफ, युक्रेनको उप्रप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियन्कालगायत छन्।
टाइम म्यागेजिनले कलकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता र वकालतजस्ता विधाबाट पनि प्रतिभाशाली र प्रभावशाली सय जना व्यक्तित्व छनोट गरी सूचीकृत गरेको छ
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend