२४ भदौ , काठमाडौं । नेपाल उद्योग परिसंघले आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने बताएको छ। परिसंघले १६औं योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन यही भदौ २४ गते पेश गर्दै यस्तो सुझाव दिएको हो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई परिसंघको सुझाव हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष अग्रवालले १६औं योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगहरुका लागि जग्गाको सिलिङ तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन ‘मेक इन नेपाल स्वदेशी अभियान ‘ को प्रवर्द्धन गरिनुपर्ने उनले बताए ।
गुणस्तरीय पूर्वाधार विकासका लागि न्यून बोलकबोललाई आधार मानेर आयोजना दिन नहुने, सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गरिनुपर्ने, नेपालको निर्यात प्रवर्द्धन गर्न विभिन्न मुलुकसँग दोहोरो करमुक्ती सम्झौता गर्नुपर्ने, रोजगारमुलक सीप विकासलाई उच्च प्राथमिकतामा राख्न परिसंघले सुझाएको छ ।
परिसंघको सुझाव ग्रहण गर्दै योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले १६औं योजना उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित हुन खोजिएको बताए । उत्पादन बढेमात्रै आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन सकिने भएकाले आगामी योजना यसमै केन्द्रित हुने बताए । नीति तथा योजना बनाउँदा निजी क्षेत्रको समेत प्रभावकारी सहभागिता खोजिएकाले १६औं योजना तर्जुमा गर्दा नेपाल उद्योग परिसंघले मेहेनतका साथ अध्ययन गरेर दिएको सुझाव महत्वपूर्ण हुने बताए ।
परिसंघले अध्ययन गरेरै योजना आयोगले माग गरेको ढाँचामा १४ वटा परिच्छेदमा ४९ पृष्ठको विस्तृत सुझाव आयोगसमक्ष पेश गरेको हो ।
सुझाव हस्तान्तरण कार्यक्रममा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend