शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कुमारी सेभिङ एण्ड क्रेडिटका अध्यक्षमा राजु दाहाल

कुमारी सेभिङ एण्ड क्रेडिटका अध्यक्षमा राजु दाहाल

काठमाडौं । कुमारी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको अध्यक्षमा राजु दाहाल निर्वाचित भएका छन। संस्थाको यही भदौ २३ गते सम्पन्न २०औं वार्षिक साधारणसभाले अध्यक्ष दाहाल सहित संचालक समिति र लेखा समितिको सर्वसम्मत चयन गरेको हो। नयाँ संचालक समितिको उपाध्यक्षमा ईश्वरी प्रसाद भट्टराई , सचिवमा सरिता तामाङ्ग , कोषाध्यक्षमा अनिता अधिकारी लगायत रहेका छन।

निवर्तमान अध्यक्ष सुर्य ध्वज न्यौपानेको सभापतित्व र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि कँडेलले यस कुमारी सहकारीको सबै आर्थिक सूचकांकहरु सकारात्मक देखिएको बताए। ‘केही सहकारी संचालकको बदमासीको कारण समग्र सहकारी क्षेत्रमा नै विश्वासको संकट आउन दिनुहुन्न,’ उनले भने।

संस्थाका निवर्तमान अध्यक्ष न्यौपानेले समाज प्रतिको उत्तरदायित्व समेत निर्वाह गर्दै सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम तथा विनियमावलीहरुको अधीनमा रही सदस्यहरुको अधिकतम हित गर्ने उद्धेश्यले काम गरिरहेको बताए । संस्थाले २०६९ असोज ४ गते देखि चाबहिलमा रहेको संस्थाको आफ्नै भवनबाट वित्तीय कारोबारका साथै रेमिटेन्स, एटिएम, मोबाइल बैंकिङ, एस एम एस बैंकिङलगायतको सेवा प्रदान गरिरहेको उनले बताए ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को संस्थाको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। सभाले वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरणहरु पनि पारित गरेको छ।

त्यस्तै , सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित नीति तथा कार्यक्रमको अनुमोदन गरेको छ।

संस्थाले प्रदेश सहकारी कानुन अनुसार कारोबार गरेको र
सहकारी क्षेत्रमा उत्कृष्ट, सवल र सक्षम सहकारीको रूपमा विकास गर्न प्रतिबद्ध रहेको जनाएको छ। यस आर्थिक वर्ष २०८०/०८१ मा सदस्य संख्या र शेयर पूंजी वृद्धि गरी चुक्ता शेयर पूंजी रु. १० करोड पुर्याउने लक्ष्य राखेको छ।

सहकारीले पारदर्शी र प्रभावकारी तथा गुणस्तरिय सेवा दिने उद्देश्यले स्तरिय सफ्टवेयरबाट सेवा दिइरहेको जनाइएको छ । संस्थाको कारोबारलाई चुस्त, दुरुस्त, पारदर्शी, मितव्ययी बनाउन संचालक समिति हरदम सकृय रहेको तथा कर्जा प्रवाहमा कर्जा उपसमिति, सञ्चालक समिति पूर्ण उत्तरदायी रहेको , संस्थाबाट विनाधितो कर्जा प्रवाह नहुने र प्राविधिकबाट धितो मुल्याङ्कन भए पश्चात मात्र कर्जा प्रवाह हुँदै आएको संस्थाले जनाएको छ ।

संस्थाको मुख्य कार्यालय रहेको चाबहिलस्थित कुमारी भवन तथा सेवा केन्द्र कालीमाटी, ठमेल, साँखु र बालाजुबाट सदस्यहरुले बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स लगाएत एटिएम सेवा लिन सक्ने संस्थाका निवर्तमान अध्यक्ष न्यौपानेले जानकारी दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend