सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस कारण रिसिए मन्त्रीहरु उद्योगी संग

यस कारण रिसिए मन्त्रीहरु उद्योगी संग

 

उद्योग व्यवसायीहरुले आफनो हितको लागी बिभिन्न मागहरु अगाडी सारिरहेको बेला मन्त्रीहरुले त्यसको जवाफ फर्काएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चिनी उद्योगीहरुलाई ‘केटाकेटी’ को संज्ञा दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योग भन्दैमा सरकारले सधैं संरक्षण गर्न नसक्ने बताएका छन् । त्यसैगरी श्रममन्त्री गोकर्ण विष्टले चिया उद्योगीलाई थर्काउँदै भने– ‘गाडीका लागि डिजेल पनि माग्नुस् न, त्योचाहिँ छुट्यो !’ चिनी, कफी तथा चिया उद्योगमा देखिएका समस्यामाथि छलफल गर्न प्रतिनिधिसभाअन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योगी व्यवसायी र तीन मन्त्रीहरुलाई सिंहदरबारमा बोलाएको थियो । बैठकमा छलफलको मुख्य विषय चिनी, चिया र कफीमा नेपाललाई कसरी आत्मनिर्भर गराउन सकिन्छ भन्ने थियो ।

यसमाथि छलफल गर्न संसदीय समितिका तर्फबाट सम्बन्धित मन्त्रालय अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, श्रम तथा रोजगार र कृषि विकास मन्त्रीहरुलाई बोलाइएको थियो । समितिको बैठकमा कृषि मन्त्री चक्रपाणि खनाल नआएका कारण मन्त्रालयका सचिव युवकध्वज जीसीले नै मन्त्रालयको प्रतिनिधित्व गरे । बाँकी तीनवटै मन्त्रालयका मन्त्रीहरु स्वयं बैठकमा आएका थिए । बैठकको शुरुमा उद्योग समितिका सभापति विमलप्रसाद श्रीवास्तवले आफ्ना सुझावहरु राख्न चिनी उद्योग संघ, कफी व्यवसायी महासंघ र चिया उत्पादक संघका प्रतिनिधिलाई क्रमशः समय दिए । उद्योगीहरुले आफ्ना समस्या राखिसकेपछि तीनैजना मन्त्रीहरु पालैपालो कडा रुपमा प्रस्तुत भए ।श्रममन्त्री विष्टले चिया बगानमा सरकारबाट आवास सुविधा माग गर्ने उद्योगीले मजदुरलाई बिर्सिएको टिप्पणी गरे ।

‘ऐनको व्यवस्था र सरकारले ल्याएको कानुन मान्दैनौं भन्ने तागत कसरी आयो ?’, बिष्टले भने,’ सरकारको प्रतिनिधिको हैसियतले म भन्छु– सामाजिक सुरक्षा कार्यक्रम चिया उद्योगमा पनि लागू हुन्छ ।’ योगदानमा आधारित समाजिक सुरक्षा ऐन र श्रम ऐन आफू एक्लैले नबनाएको भन्दै कानुन मान्दिनँ भन्न कसैले पनि नपाउने मन्त्री विष्टले बताए । उनले सरकारले ल्याएको योजना जसरी पनि लागू हुने बताए ।

कफी ओझेलमा र्पयो, चिनी र चियामा निश्कर्ष निस्किएन बुधबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको बैठकको निश्कर्ष भने केही पनि निस्किएन । लामो बहस र छलफलमात्रै भयो । बेलुका ४ बज्नै लागेपछि कर्मचारीहरुको आन्दोलन कारण समितिको बैठक अन्त्य भएको घोषणा गरियो । चिनी र चियाको विषयमा लामै बहस भए पनि कफीको विषयमा धेरै छलफल भएन । कफी व्यवसायका विषयमा राष्ट्रिय कफी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरेले कफीका लागि आवश्यक विषयहरु र सरकारले गर्नुपर्ने भन्दै आफ्नो प्रस्तुती राखेका थिए । तर, अर्थमन्त्री खतिवडा र उद्योगमन्त्री यादव चिनीतिर अनि श्रममन्त्री चियातिर केन्द्रित हुँदा कफीको छलफल ओझेलमा प¥यो ।

सबैले आ–आफ्ना तर्क प्रस्तुत गरे पनि निश्कर्ष भने बुधबारको बैठकले केही पनि निकाल्न सकेन । बैठक केवल भनाभनमै सीमित भयो । छलफल अझै लम्बिने भए पनि कर्मचारी आन्दोलनको प्रभाव बैठकमा देखियो । सिंहदरबारभित्रै कर्मचारीहरु यतिबेला आन्दोलनमा छन् । कर्मचारीले आन्दोलनका लागि भन्दै ४ बजे नै कार्यालय छाड्ने गरेका छन् । ४ बजे संसद सचिवालयका कर्मचारी हिँड्ने भएपछि समिति सभापति विमलप्रसाद श्रीवास्तवले पुनः आवश्यक परे छलफल गर्ने भन्दै बैठक समापन भएको घोषणा गरे ।चिनी उद्योग र उखु किसानका समस्यामा भने अर्थ, उद्योग र कृषि मन्त्रालयका अधिकारीहरुले बिहीबार छुट्टै छलफल गर्ने कृषि सचिव युवकध्वज जीसीले जानकारी दिएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend