शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

विमानस्थलबाट करिब १०० किलो सुन बरामद ,एजेन्टसहित ६ जना पक्राउ

विमानस्थलबाट करिब १०० किलो सुन बरामद ,एजेन्टसहित ६ जना पक्राउ

खबरब्रेकिंग, काठमाडौं, साउन ४ गते । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ गते बुधबार साँझ करिब १०० किलो सुन बरामद गरेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएको करिब ८० देखि १०० किलो सुन बरामद भएको विमानस्थल भन्सार स्रोतले बताएको छ। यद्यपि बुधबार रातिसम्म अपरेसन जारी रहेकाले सुनको परिमाण यकिन भने भन्न सकिने अवस्थामा नरहेको स्रोतले जनाएको छ।

बुधबार दिउँसो करिब २ बजे नै भन्सार पास भएर सिनामंगलस्थित विमानस्थल परिसर बाहिर आइसकेको थियो । विमास्थलबाट दैनिक अनुमानित एक सय किलो सुन पास भइरहेको सूचना केही दिनदेखि आएको र सोही आधारमा अपरेसन गर्दा सो परिणामको सुन बरामद भएको स्रोतले जनाएको छ।

ठुलो परिणाममा स्कुटर र मोटरसाइकलको पार्ट्ससँगै सुन लुकाएर ल्याएको सूचनापछि विभागले विमानस्थल क्षेत्रमा एउटा टोली बुधबार बिहानैदेखि परिचालन गरेको थियोे। विभागमा प्राप्त गोप्य सूचनाअनुसार नै बुधबार हङकङ हुँदै करिब सय केजी आसपासको परिमाणको सुन भन्सारबाट जाँचपास भएर सजिलोसँग भित्रियो। उक्त सुन भन्सारबाट पास भएर ट्याक्सीमा लैजाने क्रममा समातिएको स्रोतले बताएको छ।

भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले भने जानकारी नभएको भन्दै पन्छिएको छ।

दिउँसो नै भन्सार पास भएको सुन हङकङबाट क्याथे प्यासिफिक एअरलाइन्सको विमानमा स्कुटरको ब्रेक सुमा फिट गरेर ल्याइएको थियो । बरामद सुनको मूल्य एक अर्बभन्दा बढी पर्न आउँछ।

अनुमानित एक सय केजी सुन अवैध रूपमा भित्र्याउने काममा संलग्न भएको आशंकामा ६ जना पक्राउ परेका छन्।बुधबार नै पक्राउ पर्नेहरूमा भन्सार एजेन्ट राजेन्द्रकुमार राई र एकजना ट्याक्सी चालक छन । त्यसपछि आज बिहीवार बिहानसम्म थप चार जना पक्राउ गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend