सोल । दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।
पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउन्टीका छ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन् ।
बाढीपहिराका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको अभिलेख रहेपनि त्यो अझ बढ्नसक्ने बताइएको छ ।पहिरो र भवन भत्किँदा सात जनाको मृत्यु भएको हो । उत्तरी ग्योङसाङ प्रान्तमा खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् ।
कोरिया रेलरोड कर्पोरेशनका अनुसार सबै नियमित रेल सेवा राष्ट्रव्यापी रूपमा बन्द गरिएका थिएभने केही ‘बुलेट ट्रेन’ समयतालिका समायोजन गरी सञ्चालन भएका छन् ।प्रधानमन्त्री हान डक–सूले विपद् व्यवस्थापन निकायका अधिकारीहरूलाई आपत्कालीन सेवा प्रवाह तथा विपद् प्रतिकार्यलाई गति दिन आग्रह गरेका छन् । उनले रक्षा मन्त्रालयबाट सञ्चालन हुने उद्धार कार्यमा सघाउन सम्बद्ध निकायहरूलाई निर्देशन पनि दिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend