सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हरि सिन्चुरीको जिवन, कालिगढ देखी यूरोप, अमेरिका सम्म

हरि सिन्चुरीको जिवन, कालिगढ देखी यूरोप, अमेरिका सम्म

 

हस्तकला व्यवसायी हरि सिन्चुरी विकलाई कुनै समय खान लगाउन समेत धौधौ थियो । पुर्खा नै हस्तकला व्यवसायमा संलग्न हुँदै आए पनि उनीहरूले जीवन बदल्न सकेका थिएनन् । पुर्खौदेखि मजदुरी गरेर खान लगाउन समेत धौधौ हुदैँ आएपछि उनले पैसा जम्मा पारेर व्यवसाय सुरु गरे । उनले दुई दशक देखि आफ्नै लगानीमा व्यवसाय सुरु गरेका छन् । धादिङ कल्लेरी स्थायी घर भई ललितपुर बस्दै आएका हरिले हस्तकलाका सामग्री बनाउने र विदेशमा निर्यात गर्ने काम गर्छन् । समाजले ‘दलित’ भन्ने समुदायमा जन्मेका उनी अहिले सफल व्यवसायीको रुपमा परिचित हुँदा खुसी व्यक्त गर्छन् ।  अहिले उनी नेपाल हस्तकला कालिगढ संघका अध्यक्ष एबम ग्लोवल सेन्चुरी प्रालिका सञ्चालक तथा महाप्रबन्धक हुन् ।

पाँच लाख रुपैयाँ लगानी गरेर सुरु गरेको व्यवसाय अहिले एक करोड भन्दा बढी पुगेको उनी बताउँछन् । ‘पुर्खादेखि काम गर्दै आए पनि मजदुरीमा मात्र सीमित हुँदा पुस्ता बदलिन सकेन तर मलाई व्यवसाय गरेर मात्र जीवन बदल्न सकिन्छ भन्ने लागेर व्यवसाय सुरु गरेँ’ उनी आफ्नो व्यवसाय कथा सुनाउँछन् । उनले सुनचाँदीका गहनाका साथै काष्ठकलाका विभिन्न प्रकारका सामग्री बनाउने र बिक्री गर्ने गर्छन् । मेटलक्राफ्ट, मूर्ति, स्टोनक्राप्ट, चित्रकला, बेतबास, पस्मिना, हड्डीका सामग्री उनको पसलमा पाइन्छन् ।
पुर्खौली व्यवसायलाई व्यवसायीकरण गर्न तालिमसमेत चलाएका छन् उनले ।

नयाँ पुस्ता यसमा आकर्षित हुन नसकेको उनी स्विकार्छन् । भन्छन, ‘नयाँ पुस्ता हस्तकलामा आकर्षित देखिँदैन, उनीहरूलाई सीप सिकाउनु हाम्रो कर्तव्य हो ।’ नेपालको कला संस्कृति जगेर्ना तथा पुख्र्यौली पेसालाई निरन्तरता दिएर व्यावसायिक सफलता हात पार्न सकेकोमा उनी सन्तुष्ट देखिन्छन् । परम्परागत सीपलाई व्यवसायीकरण गरी लाभ लिन सक्नु अहिलेको आवश्यकता भएको उनको बुझाइ छ ।अहिले अधिकांश युवा वैदेशिक रोजगारीमा आकर्षित छन् । केही बाध्यताले र धेरै रहरले विदेश जाने गरेका छन् ।

‘वैदेशिक रोजगारीमा जानुको साटो नेपालमै व्यवसाय गर्न सके दीर्घकालीन लाभ लिन सकिन्छ’ उनी भन्छन् । स्वदेशमा काम गरेर प्रशस्त आयआर्जन गर्न सकिने उनको बुझाइ छ । उनले सयौंलाई रोजगारी दिइसकेका छन् । उनको पसलमा अहिले २० जना भन्दा बढीले काम गर्छन् । सिजनका बेला ४० जना भन्दा पनि बढीले काम गर्ने उनी बताउँछन् । दर्जनौं नेपालीलाई रोजगारीको अवसर दिन सकेकोमा उनी आत्मसन्तुष्ट छन् । सानो कामलाई पनि निरन्तरता दिन सके सफल व्यवसायी बनिन्छ भन्ने उदाहरण दिएका छन् उनले ।

पुस्तौनी पेसालाई निरन्तरता दिएर हरि सिन्चुरी विकले ह्यान्डिक्राफ्टबाटै प्रशस्त आम्दानी गरेका छन् । हरि ०३६ साल साउन १५ गते धादिङको कल्लेरी १ मा सामान्य परिवारमा जन्मेका हुन् । उनले सरस्वती निमावि डुम्रीचौर विद्यालयबाट आफ्नो अध्ययन सुरु गरेका थिए । स्व. कृष्ण बहादुर कामी (सिन्चुरी) तथा माता माकुरी कामीको दुई छोरी पछिको जेठो छोराको रुपमा जन्मिएका हरि पुर्खौली पेशालाई व्यवसायीकरण गर्न सकेकोमा गौरब महसुश गर्छन् ।नेपालमा अरनीको पालादेखि नै काष्ठकला र हस्तकलाको आकर्षण हुदैँ आएको छ ।

हातैले बनाउने भएकाले पनि नेपाली हस्तकलामा मौलिकपन हुन्छ । त्यसकारण पनि नेपाली हस्तकलाको माग विदेशमा अधिकमात्रामा आउने गरेको छ । अमेरिका, युरोपलगायतका क्षेत्रमा उनले आफ्ना उत्पादन बिक्री गर्ने गछन् ।कला, संस्कृति र परम्परा जोगाईराख्न नयाँ पुस्ता अकर्षित हुनुपर्ने र व्यवसायिकतमा जोड दिनुपर्ने अपरिहार्यता भएको उनी बताउँछन् । ‘पुस्ता हस्तान्तरण कम हुदैँ गएको छ, यस पेशामा आकर्षित गर्न सबैको ध्यान जान जरुरी छ’ उनी भन्छन् ।

आत्मसम्मान र व्यवस्थित नभएका कारण युवा पलायन हुने गरेको उनले बताए । लगनले गरे यही पेसामा पनि सम्मान र पैसा भएको उनको बुझाइ छ । अहिले बजारमा कम्तीमा उनले २५ प्रतिशत हिस्सा ओगट्न सफल भएको दावी गर्छन् । ‘मागअनुसार खपत गर्न सक्छु, स्वदेश, विदेशबाटसमेत माग आइरहेको छ’ उनी भन्छन् । आकर्षक डिजाइन भएको भन्दै अर्जे्न्टिना, अमेरिका, युरोपबाटसमेत आफ्ना उत्पादनको खोजी हुने गरेको उनले सुनाए । जिन्दगी सफल या असफल हुनमा त्याग, तपस्या र इमान्दारीको भूमिका हुने बताउँछन् । काम गर्न दुःख नमाने सफल व्यक्ति बन्न धेरै समय नलाग्ने उनले बताए । ग्राहकले अर्डर गरेको तीन महिनादेखि ६ महिनासम्म आफ्ना उत्पादन दिइ सक्छन् ।

उनले दैनिक एक सयभन्दा बढी हस्तकलाका सामग्री बनाउने गर्छन् । औंठी, चुरालगायत हस्तकला सामग्रीको नेपालमै उपभोग बढ्दै गएको उनी बताउँछन् ।‘आफूसँग जे छ त्यसैमा आत्मसन्तुष्टि भई काम गर्न सक्ने मानिस नै सफल हुन्छ’ उनको सफलता सूत्र हो यो । सफल हुन परिवारको साथ अपरिहार्य रहेको उनको भोगाइ छ । आमाबुबा, श्रीमती तथा परिवारका सदस्यकै कारण आफू सफल भएको ठान्छन् । भन्छन, ‘परिवारको सहयोगले जस्तोसुकै दुख कष्ट पनि सहजै अपनाएर अघि बढ्न सकिन्छ ।’

व्यवसायमा सफलतासँगै उनले दर्जनौं सम्मान पाएका छन् । दर्जनौं बिभिन्न क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाएको आफ्नो मिहिनेत र परि श्रम नै ठान्छन् । उनले हालै मात्रै ‘वर्ल्ड क्राफट्स काउन्सिल’बाट अन्तराष्ट्रिय स्तरको सम्मान पाएका छन् । कुबेतबाट पाएको उक्त सम्मान उनको गुणस्तरीय हस्तकला सामाग्रीकै कारण थियो ।त्यस्तै उनी सन २००८ मा सर्वोत्कृष्ट उद्यमीलाई प्रधान गरिने ‘स्माल इन्टरप्राइजेज एक्सलेन्स अवार्ड’ र २०१० मा तेस्रो ‘स्माल इन्टरप्राइजेज एक्सलेन्स अवार्ड’बाट सम्मानित भएका थिए । त्यस्तै, अन्नपूर्ण प्रावि सम्मान, अम्बेडकर सम्मान पदक अन्तराष्ट्रिय पुरस्कार, नेपाल दलित संघ राष्ट्रिय दलित सदनबाट सम्मानलगायतका पुरस्कार पाएका छन् ।

हरि सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छन् । उनी सामाजिक राजनीतिक रूपमा पछाडि परेका दलित समुदायको हकहित र सहयोगमा पनि उतिकै मात्रामा सक्रिय छन् । उनले दलित बस्तीमा सञ्चालित अन्नपूर्ण प्राविलाई जमिन दान गरेका थिए । उक्त विद्यालयमा विपन्न वर्गका दलित विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयले उनको सहयोगको कदर गर्दै सम्मान गरेको थियो ।उनी भन्छन ‘आफूले गरेको काममा जनताले मूल्यांकन गरी मलाई सम्मान गरेको धेरै खुसी भएको छु । त्यो क्षण म अहिले पनि सम्झिरहेको छु ।’ विशेष गरी दलित समुदायका बच्चाहरू पढ्न पाउने बिद्यालयलाई आफु दलित समुदायकै व्यक्ति भएर सहयोग गर्न पाएकोमा निकै खुसी व्यक्त गर्छन् ।

सामाजिक काम गर्न पाउँदा आफूलाई आनन्द आउने उनी बताउँछन् । मानिस सफल हुन त्याग तपस्या र इमान्दारीको भूमिका हुने बताउने सिन्चुरी आफ्नो काममा दत्तचित भई लागेकाले समाजसेवा गर्न पाएको बताए । नेपालमा हस्तकला व्यववयमा ११ लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । हस्तकला व्यवसायले वार्षिक १५ अर्ब बराबरको निर्यात गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend