सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अवकाश पाउन दुई दिनमात्रै बाँकी रहँदा अर्याल अप्रत्यासित रूपमा मुख्य सचिवमा नियुक्त

अवकाश पाउन दुई दिनमात्रै बाँकी रहँदा अर्याल अप्रत्यासित रूपमा मुख्य सचिवमा नियुक्त

खबरब्रेकिंग,काठमाडौं,असार १ गते। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ । सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै बाँकी रहँदा अर्याल अप्रत्यासित रूपमा सरकारको मुख्य सचिवमा नियुक्त भएका हुन् । उनी आगामी तीन वर्षका लागि मुख्य सचिव बनेका छन् ।

बिहीबार आकस्मिक रुपमा सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले हालका मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्दै उनको ठाउँमा अर्याललाई ल्याएको हो । अर्यालको यो नियुक्तिलाई ‘नाटकीय’ र ‘अप्राकृतिक’ रूपमा हेरिएको छ ।

राजनीतिक र प्रशासन दुवै विकृत भइरहेको अवस्थामा उहाँ मुख्य सचिव बन्दै गर्दा उनीमाथि चुनौतीको चाङ छ । चुनौतीको चाङबीच उनलाई अप्राकृतिक किसिमले मुख्य सचिव बनेको आरोप लागेकाले उनले प्रभावकारी र स्वाभिमानी रूपमा ‘एस म्यान’ नबनी प्रशासनको साख उच्च बनाउने गरी काम गरेमा उहाँमाथि लागेको आरोपको खण्डन हुनसक्ने देखिन्छ ।

हालका मुख्य सचिव शंकरदास वैरागीको अवकाशको समय साढे चार महिना रहेकै अवस्थामा उहाँलाई अन्यत्र पठाएर यही ३ असारमा सेवानिवृत्त हुने क्रममा रहेका अर्याललाई मुख्य सचिव बनाइएको हो । यसैकारण यसलाई सरकारको अप्राकृतिक कदमको रूपमा हेरिएको छ ।

सरकारको यस्तो कदमले प्रशासनमा अनुमानयोग्य बढुवा प्रणालीमा गम्भीर क्षति पुग्ने र प्रशासनमा क्षयीकरण हुने विज्ञहरूले बताएका छन् । यसले प्रशासनलाई चरम अस्थिर र भद्रगोल बनाउन सक्ने भन्दै प्रशासनविद्ले चिन्ता व्यक्त गरेका छन् ।

मुख्य सचिवले आफ्नो पूरै अवधि नसकाउँदै छोड्ने अवस्था आउनु र उनको कार्यकाल नसकिँदै अर्को व्यक्तिलाई मुख्य सचिव बनाउने प्रवृत्तिका कारण यसलाई नाटकीय र अप्राकृतिक रूपमा हेरिएको प्रशासनविद् श्यामप्रसाद मैनालीले बताए । कुनै विधि पद्धतिभन्दा पनि प्रधानमन्त्रीको तजबिजमा मुख्य सचिव ल्याउने तथा पुरानो मुख्य सचिवले सहजै छोड्ने प्रवृत्तिले प्रशासनलाई गम्भीर क्षयीकरण तर्फ लैजाने प्रशासनविद् मैनालीको तर्क छ । यो समाचार नेपाल समाचार दैनिकमाम छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend