सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको सङ्घको भनाई

आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको सङ्घको भनाई

खबरब्रेकिंग,काठमाडौं,जेठ २९ गते। नेपाल कृषिउपज आलु प्याज आयत निर्यात तथा थोक बिक्रेता सङ्घले आर्थिक ऐन २०८० अन्तर्गत आलु तथा प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउनु अव्यावहारिक भएको बताएको छ । सोमवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सङ्घले यस्तो बताएको हो । भान्सामा दिनहुँ प्रयोग हुने अत्यावश्यक वस्तुहरू आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको सङ्घको भनाई छ । सङ्घले आलु तथा प्याजको कारोबारमा भ्याट आकर्षित गर्नु अनुचित, अव्यावहारिक, अनावश्यक, अन्यायपूर्ण र महँगीलाई मलजल गर्ने काम भएको भन्दै आर्थिक ऐन २०८० बमोजिम आलु तथा प्याजमा भ्याट आकर्षित गर्ने उपभोक्ता हित विरोधी काम नगर्न सरकारसँग आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा सङ्घका महासचिव प्रकाश गजुरेलले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८०/८१ बजेट वक्तव्यको एक बुँदा र सँगै प्रस्तुत भएको आर्थिक ऐन २०८० ले व्यवसाय तथा उपभोक्तालाई समेत प्रतिकूल असर पर्ने बताए । उनले देशमा महँगी बढिरहेको बेला आलु, प्याजजस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु भएको जिकिर गरे ।

महासचिव गजुरेलले अहिले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएको पनि बताए । उनले यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको जिकिर गरे । यस्तो नीतिले व्यवसाय सङ्कुचित हुने र १३ प्रतिशत भ्याट लगाउँदा आलु, प्याज एक तिहाइले महँगिने उनको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend