खबरब्रेकिंग, काठमाडौं, जेठ २५ गते । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।
बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।
बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइने परीक्षा नियन्त्रक श्रेष्ठले बताए ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा कुल १२ हजार ८३ विद्यालयबाट चार लाख ८५ हजार ३९६ जना परीक्षार्थी सहभागी थिए । जसमा छात्र र छात्राको सङ्ख्या क्रमश स् दुई लाख ४२ हजार ६७४ र दुई लाख ४२ हजार ७१२ जना थियो । यस पटक नेपालसहित जापानमा पनि एसइई सञ्चालन भएको थियो ।
यस पटक नतिजा सार्वजनिक गर्दा अक्षराङ्कनसम्बन्धी कुन निर्देशिका अपनाउने भन्ने विषय भने अझै निक्र्योल भएको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष अक्षराङ्कनसम्बन्धी निर्देशिका संशोधन गरेर सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको छ ।
उक्त निर्देशिकाले ३५ भन्दा कम ल्याउनेलाई ‘नन ग्रेडेड’ भनेर कक्षा ११ मा भर्ना हुने बाटो बन्द गरेको थियो भने पुरानो निर्देशिकाले २० अङ्कभन्दा पनि थोरै ल्याउनेलाई ‘ई’ मानेर कक्षा ११ मा भर्नाको बाटो खुलाइदिएको छ ।
गत वर्ष भने संशोधित निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्दा धेरै विद्यार्थी अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा पर्ने देखेपछि बोर्डले पुरानै निर्देशिका अनुसार नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस पटक पनि पुरानो वा संशोधित कुन निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend