२४ जेठ ,काठमाडौं । नेपालमा वृहद् अन्तर्राष्ट्रिय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल योग खेलकुद संघको आयोजनामा यही जेठ २५, २६ र २७ गते काठमाडौंमा तेस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता र दोस्रो Mount Everest Yoga Festival Championship आयोजना हुदैछन् ।
दक्षिण एशियाली योग खेलकुद प्रतियोगितामा दक्षिण एशियाका सात देशका करिब २०० जना र Mount Everest Yoga Festival Championship मा विश्वका करिब १७ देशका ३०० जना योग खेलाडीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएका छन। प्रतियोगितामा विभिन्न उमेर समुहमा छ क्याटेगोरिमा स्पर्धा हुनेछन र प्रतियोगीले पाँच वटा योगासनमा प्रदर्शनी दिनुपर्नेछ । प्रतियोगिता महिला र पुरुष दुबै समुहमा हुनेछ । सहभागिता शुल्क रु. १५ सय र प्रत्येक खेलका उत्कृष्ट ३ (प्रथम , द्वितीय र तृतीय ) जनालाई पदक र पुरस्कार रहेको छ।
योगलाई आध्यात्मिक साधन र चिकित्साको साथै खेलकुदको रूपमा पनि विस्तार गर्ने र यसमार्फत नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष प्रा.डा.सुर्य बहादुर कार्कीले बताए । प्रतियोगिताका अघिल्ला संस्करणहरु पनि नेपालमा नै सफलतापुर्वक सम्पन्न भएका उनले जानकारी दिए।
प्रतियोगिताको समुद्घाटन जेठ २५ गते राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्नेछन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend