सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

२४ वर्षमा एक जना अधिकृतको चार करोड बढी गैरकानुनी आम्दानी

२४ वर्षमा एक जना अधिकृतको चार करोड बढी गैरकानुनी आम्दानी

खबरब्रेकिंग, काठमाडौं, जेठ १७ गते। सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन वरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवको जागिर अवधिको समग्र आय र व्यय, लगानी र आर्जित सम्पत्तिको विस्तृत अध्ययन गर्दा सो तथ्य बाहिर आएको हो ।
यादवले सरकारी सेवामा प्रवेश गरेदेखिको २४ वर्षको अवधिमा गरेको वैधानिक आम्दानी र कुल खर्च, लगानीसहित सम्पत्ति अमिल्दो र अस्वाभाविक देखिएको आयोगको प्रवक्ता भोला दाहालले बताउनुभयो ।
आयोगका अनुसार यादव २०४६ साल जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । गत असारसम्ममा यादवको कुल खर्च एवं लगानी ७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपियाँ १२ पैसा खर्च रहेको पाइएको छ । जबकि, यादवको वैधानिक आय २ करोड ७७ लाख २२ हजार ५० रुपियाँ ४६ पैसा हुनुपर्ने आयोगको अनुसन्धानले देखाएको छ ।
निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादात्म्यता देखिन नआई ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपियाँ २६ पैसा बराबर सम्पत्ति ऋणात्मक देखिई वैधानिक स्रोत पुष्टि हुन नसकेको प्रवक्ता दाहालको भनाइ रहेको छ ।
यादवउपर ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपियाँ २६ पैसा बिगो कायम गरी कैद तथा जरिवानाको सजाय गरी पाउन मागदाबी लिइएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend